एक करोड ७९ लाखले आगामी निर्वाचनमा मतदान गर्न पाउने, धेरै मतदाता भएको जिल्लामा काठमाडौं तेस्रो

काठमाडौंः निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ।
निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्ममा १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय छ पुरुष र एक सय ८५ जना अन्य गरी उक्त सङ्ख्यामा मतदाता नामावली शुक्रबार स्वीकृत गरेको हो।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहेका थिए।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी मतदाता सङ्ख्यासमेतका आधारमा आयोगले १० हजार आठ सय ९१ मतदान स्थल र सोअन्तर्गत २२ हजार दुई सय २६ मतदान केन्द्रहरु रहने गरी स्वीकृत गरेको जानकारी र्दिएका हुन्।
आयोगका अनुसार सबैभन्दा बढी मतदाता रहेका जिल्लाहरू मोरङ, झापा र काठमाडौं छन् भने सबैभन्दा कमतर्फ क्रमशः मनाङ, मुस्ताङ र डोल्पा रहेका छन्।
भदौ ३१, २०७९ शुक्रबार १९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।