एमाले सांसद विश्वकर्माले भनिन्, ‘चाडबाडको मुखमा महानगरले स्वरोजगारलाई बिचल्ली पार्याे’

काठमाडौंः एमाले सांसद विमला विश्वकर्माले काठमाडौं महानगरपालिकाले स्वरोजगार व्यापारीको बिचल्ली पारेको बताएकी छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले दैनिक ज्यालादारी तथा स्वरोजगारी गरिखाने श्रमिकलाई चाडबाडको मुखमा बेरोजगार र भोकभोकै बनाउने काम राम्रो नभएको बताइन्।
‘काठमाडौंलाई सफा र सुन्दर बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभियान सहि छ,’ उनले भनिन्, ‘तर दैैनिक ज्यालादारी तथा स्वरोजगारी गरिखाने श्रमिकलाई चाडबाडको मुखमा बेरोजगार र भोकभोकै बनाउने काम ठिक भएन।’
व्यवस्थित नगरी विस्थापित गर्दा समस्या देखिएकाले स्वरोजगार श्रमिकलाई दीर्घकालीन व्यवस्थापनको योजना बनाउँदै समय मिलाएर तत्काल खुला ठाउँहरूमा व्यापार गरिखाने व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराइन्।
साथै उनले अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा र श्रमिक पञ्जीकरणको व्यवस्था गर्न पनि माग गरेकी छन्।
भदौ ३१, २०७९ शुक्रबार १८:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।