प्रधानमन्त्री देउवाद्वारा नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरेका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले देशको आर्थिक अवस्था राम्रो नभए पनि खेलकुद विश्वविद्यालय सुरुवात गर्ने बताए। यसबाट खेलप्रेमी अझै आकर्षित हुने उनको विश्वास छ।
उनले भने, ‘छिट्टै नै हामी खेलकुद विश्वविद्यालय सुरु गर्नेछौं। यसले भोलि हाम्रो देशमा युवालाई अझ बढि आकर्षण गराउँछ भन्ने विश्वास लिएको छु।’
प्रधानमन्त्री देउवाले नेपाल खेलकुद प्रेमी देश भए पनि अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त गर्न भने बाँकी रहेको पनि बताए। उक्त ट्रफी करिब १० लाखको लागतमा तयार गरिएको हो।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक धेरै पदक विजेता टोलीलाई ट्रफीको व्यवस्था गरिएको जानकारी दिए।
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सात वटै प्रदेशमा पुर्याएर असोज २३ गते प्रतियोगितास्थल गण्डकी प्रदेशको पोखरामा पुर्याइने राष्ट्रिय खेलकुद परिषद्को तयारी छ।
भदौ ३१, २०७९ शुक्रबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।