'भन्सारले ल्याउन छुट दिएको सङ्ख्याको र उपहार आउने मोबाइल सेटको नेटवर्क बन्द हुँदैन'

'भन्सारले ल्याउन छुट दिएको सङ्ख्याको र उपहार आउने मोबाइल सेटको नेटवर्क बन्द हुँदैन'

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याएसँगै अब नेपालको मोबाइल नेटवर्कमा कस्ता सेट चल्छन् अनि कस्ता सेट चल्दैनन् भन्ने अन्योल बढेका छन्। विदेशमा रहेका नेपालीले आफन्तलाई पठाउने वा ल्याउने उपहारको मोबाइल के हुन्छ?, नेपाल आउँदा आफूसँगै ल्याएको मोबाइल सेट के हुन्छ भन्ने सामाजिक सञ्जालमा तर्क वितर्क भइरहेका छन्।

नेपालको मोबाइल नेटवर्कमा कस्ता सेट निर्बाध चल्छन् अब कस्ता चैँ चल्दैनन् ? उकेराले प्राधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेलाई यी नै सम्बन्धी पाँच प्रश्न सोधेको छ।

१-बिहीबारबाट कार्यान्वयनमा आएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम किन चाहिएको हो ?

मोबाइल सेटको गैर कानुनी आयात र विक्री वितरण रोक्ने यसको उद्देश्य हो। हराएको वा चोरिएको मोबाइल असम्बन्धित व्यक्तिले प्रयोग नगरुन् भन्ने पनि यसको लक्ष्य हो। यो मोबाइल प्रयोगकर्ताहरूलाई झन्झटिलो बनाउन ल्याइएको हैन। सहज र व्यवस्थित बनाउन ल्याइएको हो। भन्सार छलीका मोबाइल सेट नेपालको मोबाइल नेटवर्कमा नचल्दा चोरी पैठारी रोकिन्छ। अनि  चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्दा मोबाइल प्रयोगकर्तालाई नै फाइदा हुने हो।

२-कस्ता- कस्ता मोबाइल सेट नेपालका मोबाइल नेटवर्कमा काम गर्दैनन्?

मुख्य त चोरी पैठारी गरेर अवैध रूपमा नेपाल भित्र्याइएका अनि चोरी भएका अनि हराएर सम्बन्धित निकायमार्फत खोजी भइरहेका मोबाइल सेट नेपालको मोबाइल नेटवर्कमा चल्दैनन्। अन्य देशमा हराएको वा चोरिएको सेट छ र त्यो सेट ब्लक लिस्टमा छ भने त्यो पनि चल्दैनन्। अन्य जुनसुकै वैध बाटोबाट नेपाल भित्रिएका सेटहरू चल्छन्।

३-वैध बाटाहरू कुन-कुन हुन् ?

एउटा र यदि आयातकर्ता हो भने वैध रूपमा भन्सार तिरेर सबै कानुनी प्रक्रिया पुरा गरेर नेपालमा भित्रिने सबै मोबाइल सेटहरू वैध हुने भइहाल्यो। व्यक्तिगत रूपमा कसैले भन्सारले तोकेको सङ्ख्यामा मोबाइल ल्याएर तिर्नुपर्ने भन्सार तिरेर नेपाल भित्र्याउने मोबाइल सेटहरू पनि वैध भए। अर्को नेपाल आउँदा आफूसँगै ल्याउने वैध मोबाइल सेट अनि भन्सार सुविधा अनुसार भन्सार नतिरी नेपाल ल्याउन पाउने सेट सबै वैध हुन्।

४-भन्सार सुविधामा एक जना व्यक्तिले भन्सार नतिरी नेपाल भित्र्याउने मोबाइल सेटको हकमा कस्तो नियम छ?

भन्सारले छुट दिएको हकमा यो प्रणालीले रोक्दैन। कानुनले नै प्रतिव्यक्ति जति वटा सेट व्यक्तिगत प्रयोजनमा ल्याउन पाउने भनेको छ। त्यति सङ्ख्याका सेट भन्सार नतिरे पनि प्रयोग हुन्छ। त्यसका लागि यो प्रणाली कार्यान्वयनमा आएपछि प्रयोगकर्ताले गर्नुपर्ने थप काम भनेको प्राधिकरणको साइटमा गएर दर्ता गर्ने मात्र हो। दर्ता गर्दा नागरिकता अपलोड गरे पुग्छ।

५- केही समयका लागि मात्रै नेपाल आउनेले आफूसँगै ल्याएको मोबाइल सेट पनि दर्ता गर्नुपर्छ ?

१५ दिनसम्म मात्रै प्रयोग गर्ने हो भने पर्दैन। नेपाल भित्रिएका तर प्रणालीमा दर्ता नभएका मोबाइल सेट नेपालका मोबाइल नेटवर्कमा १५ दिनसम्म विना अवरोध चल्छन्। त्यो अवधिभन्दा बढी नेपालमा बस्ने हो भने दर्ता भने गर्नुपर्छ। यसका लागी भिसा लागेको पासपोर्टको कपी अपलोड गरे पुग्छ।

भदौ ३१, २०७९ शुक्रबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।