२०७४ सालको निर्वाचनको समानुपातिक उम्मेदवारहरूको बन्दसूची भोलि मध्यरातिबाट स्वतः खारेज हुँदै

२०७४ सालको निर्वाचनको समानुपातिक उम्मेदवारहरूको बन्दसूची भोलि मध्यरातिबाट स्वतः खारेज हुँदै

काठमाडौं: भोलि मध्यराति १२ बजेबाट २०७४ सालको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका समानुपातिक उम्मेदवारहरूको बन्दसूची स्वतः खारेज हुने भएको छ। निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो।

०७४ को निर्वाचनका लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।

आउँदो मंसिर ४ को निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची यही असोज २ र ३ गते पेश गर्न निर्वाचन आयोगले दलहरूलाई यसअघि नै निर्देशन दिइसकेको छ। यसै कारण यसअघिको बन्दसूची स्वतः खारेज हुने भएको हो।

निर्वाचन आयोगले राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ को पत्र तथा भदौ २९ मा राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावका आधारमा यस्तो निर्णय गरेको जनाएको छ। निर्णयको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, संघीय संसद्, राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनीतिक दलहरूलाई दिइने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने समेत आयोगले जनाएको छ।

भदौ ३१, २०७९ शुक्रबार १२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।