बालेनले लिन मानेनन् बाबुरामको सुझाव, भन्छन्, 'हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि !'

बालेनले लिन मानेनन् बाबुरामको सुझाव, भन्छन्, 'हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि !'

काठमाडौं: नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न सुझाव दिएका थिए। आज बिहान ट्वीटरमार्फत् बाबुरामले दिएको सुझावलाई अनलाइनखबरले समाचार बनाएर सम्प्रेषण गरेको थियो।

सोही समाचारको लिङ्क उनले आफ्नो फेसबुकमार्फत शेयर गरे। त्यस पोस्टमा मेयर बालेनले प्रतिक्रिया दिए। 

बाबुरामको ट्वीट थियो- ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्। फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ।’

यसैको समाचारको लिङ्कमा बालेनले कमेन्ट गरे- 'यो कुरा त हजुरले हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि!'

बालेनको उक्त प्रतिक्रियाको भने सामाजिक सञ्जालमा विरोध भइरहेको छ। अरूले दिएको सुझाव ग्रहण गर्न नसकेको, हर्क साम्पाङको जस्तो भएको भन्दै आलोचना भइरहेको छ। कतिपयले बालेनमा अहंकार देखिएको र कतिपयले सही जवाफ फर्काएको भन्दै बालेनलाई फुर्क्याएका छन्।

यस्तै कतिपयले भने दशैंको मुखमा फुटपाथ व्यापारीलाई केही समय भए पनि काम गर्न दिनुपर्ने प्रतिक्रिया दिएका छन्।

पछिल्लो समय बालेन र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच पनि एउटा फेसबुक पोस्टमा जुहारी परेको थियो।

भदौ ३१, २०७९ शुक्रबार ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।