विदेशबाट नेपाल आउँदा सँगै ल्याएको मोबाइल सेट १५ दिन मात्र चल्ने

काठमाडौँ : विदेशबाट नेपाल आउँदा चोरीको वा कसैको हराएको मोबाइल बोकेर आए नेपालमा अब चल्दैन। नेपाल दुरञ्चार प्राधिकरणले बिहीबारबाट मोबाइल म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याएकाले अब त्यस्ता मोबाइल नेपालमा चल्न सम्भव छैन।
प्राधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेका अनुसार चोरीका वा हराएका मोबाइलबारे सम्बन्धित व्यक्तिले सरोकारवाला निकायमा खबर गरेमा ती सेट कालोसूचीमा पर्ने र त्यस्ता मोबाइल सेट नेपालमा पनि चल्दैनन्। वैध मोबाइलको हकमा भने त्यस्तो कुनै समस्या नहुने उनले उकेरालाई जानकारी गराए।
'वैध मोबाइल सेटका लागि त्यस्तो कुनै समस्या हुन्न। तर हराएको वा चोरी भएर सम्बन्धित देशको नियमन गर्ने निकायले कालो सूचीमा राखेको सेट भने नेपालमा पनि चल्दैन' उनले भने।
नेपालमा अस्थायी रूपमा आउने पर्यटक लगायतकाले आफूसँगै ल्याउने वैध मोबाइल सेटका हकमा भने केही समस्या नहुने उनले जानकारी दिए।
निश्चित समयका लागि नेपाल आउनेहरूका हकमा दर्ता नगरे पनि १५ दिनसम्म चल्ने तर सो अवधिभन्दा लामो समय नेपालमा बस्ने हो भने प्राधिकरणको वेब साइटमा गएर अनलाइन दर्ता गर्नुपर्ने उनले बताए।
अहिले नेपालमा भएका मोबाइल सेट के हुन्छ ?
प्राधिकरणले बिहीबारबाट यो सिस्टम कार्यान्वयनमा ल्याइसकेको छ। उसले मोबाइल सेटको गैर कानुनी आयात,विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न सो पद्धति कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ।
'चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणबाट मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको, प्राधिकरणको सूचनामा उल्लेख छ।
भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेट लगायत नेपालमा चालु रहेका सबै मोबाइल सेटहरू स्वतः सो प्रणालीमा दर्ता हुने र ३० गतेपछिका मोबाइल सेट भने प्राधिकरणको प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको यकिन गरी किन्न आग्रह गरेको छ।
यो अवधिमा नेपालमा सञ्चालनमा आइसकेका मोबाइल सेटको हकमा भने दर्ता गर्नु नपर्ने र ती सञ्चालन गर्न कुनै अवरोध नहुने प्राधिकरणले जानकारी दिएको छ।
भदौ ३०, २०७९ बिहीबार २२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।