प्रहरी हौं भन्दै ३० लाख लुटपाट, तीनजना प्रहरी नियन्त्रणमा

प्रहरी हौं भन्दै ३० लाख लुटपाट, तीनजना प्रहरी नियन्त्रणमा
सांकेतिक तस्बिर

काठमाडौंः प्रहरी हौं भन्दै नगद ३० लाख २३ हजार २ सय ८ रूपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले कपनबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका–१ घर भई भक्तपुर लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका–३ घर भई काठमाडौं कपन बस्ने ३० वर्षीय देव लामा र रामेछाप सुनापाती गाउँपालिका–१ घर भई काठमाडौं कपन बस्ने २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन्।

काठमाडौं ठमेलस्थित ओरियण्टल मनि एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हेपी पानीट्याङ्की नजिक ३ वटा मोटरसाइकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले भदौ २२ गते साँझ प्रहरी हौं भन्दै पीडितलाई जबरजस्ती मोटरसाइकलमा राखी डल्लु पुर्याएका थिए। 

डल्लुमा उनीहरूले उक्त नगद, मोबाइल, लाइसेन्स र ब्लुबुक समेत रहेको झोला लुटपाट गरी फरार भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका उनीहरूलाई अपहरण तथा डाँका चोरी कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी  परिसर टेकु पठाइएको छ।

भदौ ३०, २०७९ बिहीबार १९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।