सरकारसँग रित्तिदै डलर सञ्चिति, एक महिनामा १२ करोड डलर घट्यो

काठमाडौंः सरकारसँग भएको विदेशी विनिमय सञ्चिति घट्दै गएको छ।
गत महिनाको तुलनामा यस महिना १.२ प्रतिशतले अमेरिकी डलरको सञ्चितिमा कमी आएको राष्ट्र बैंकको जनाएको छ।
बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड डलर कायम भएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रूपैयाँ रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई १०४९ अर्ब ११ करोड रूपैयाँ छ।
राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रूपैयाँ रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई १४८ अर्ब ७४ करोड रूपैयाँ कायम भएको छ।
डलर सञ्चितिमा चाँडै नसकियोस् भन्दै सरकारले विभिन्न चार किसिमका वस्तुको आयातमा रोक लगाएको छ। सरकारले ३ सय डलरभन्दा माथिका मोबाइल, गाडी, मोटरसाइकल र विदेशी मदिरामा लगाएको रोक अहिले पनि जारी नै छ।
अमेरिकी डलर सञ्चितिमा सुधार नआएसम्म यी वस्तुको आयात नखोल्ने सरकारी योजना छ।
भदौ ३०, २०७९ बिहीबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।