'बजारभरि वैधको सट्टा भन्सार छलेका अवैध मोबाइल छरिएपछि कसरी जोगिन्छ विदेशी मुद्रा ?'

सरकारले विदेशी मुद्रा सञ्चीति घट्न नदिन भन्दै विदेशबाट हुने आयात घटाउन केही सामानहरूको आयात अनुमति रोक्यो। बिस्तारै अन्य सामानहरूमाथि लागेको प्रतिबन्ध हटाए पनि चार सामान आयात गर्न भने अझै प्रतिबन्ध नै छ।
प्रतिबन्धमा परेका चार सामानको सूचीमा तीन सय अमेरिकी डलरमाथिको मोबाइलहरू पनि छन्। सरकारी अधिकारी विदेशी मुद्राको सञ्चिति नघटोस् भनेर मोबाइलसहित चार सामग्रीको आयातमा लगाएको रोकको अवधि बढाएको दाबी गर्छन्।
तर, मोबाइल फोन एक्सपोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा भने आयात रोकिए पनि भन्सार छली भएर नेपालमा मोबाइल भित्रिरहेको तथा सरकारले विदेशी मुद्रा र राजस्व दुवै गुमाइरहेको दाबी गर्छन्। कसरी ? उनै मल्होत्रासँग उकेराको पाँच प्रश्न:
१-सरकारले विदेशी मुद्रा सञ्चिति घट्यो भनेर तीन सय डलरमाथिको मोबाइल आयातमा लगाएको रोकको विरोधमा हुनुहुन्छ, किन?
पहिलो पटक सरकारले विदेशी मुद्रा सञ्चिति घट्यो भनेर केही सामानको आयात गर्न नपाउने निर्णय गर्दा हामीले केही भनेनौं। तर, पछि भएभरका सामानको आयात खुल्ला गरेर मोबाइल, गाडी, मोटरसाइकल अनि विदेशी मदिरामा मात्रै प्रतिबन्ध लगाएपछि भने बोल्नै पर्ने अवस्था आएर बोलेका हौँ। तीन सय डलर माथिको मोबाइलको आयातमा प्रतिबन्ध जारी राख्नुको जायज कारण खुलाउन सकेन सरकारले।
२- सरकारले त भनिसक्यो नि विदेशी मुद्रा जोगाउन ?
अहिले नै बजारमा गएर बुझ्नुस् सरकारले प्रतिबन्ध लगाएको यो ६ महिनाको अवधिमा नेपालमा तीन सय अमेरिकी डलरभन्दा माथिको मोबाइल भित्रिएको छ कि छैन? बजारभरि नयाँ मोडलका मोबाइलहरू जति पनि छन्। जसले सरकारलाई कर तिरेर वैध रूपमा नेपालमा मोबाइल आयात गर्छन् उनीहरूले त यो बीचमा एउटा पनि ल्याएका छैनन्। तै पनि बजारमा कसरी आइपुग्यो त ती मोबाइल? ती भन्सार छलीका हैनन्? हाम्रो विश्लेषणमा त मोबाइलमाथिको प्रतिबन्धले सरकारले राजस्व त गुमाइरहेको छ नै विदेशी मुद्रा पनि गुमाएको छ।
अनि अर्को कुरा, ल तीन सय अमेरिकी डलरमाथिको मोबाइल ल्याउन नपाउने। तर, डिजिटल घडी चाहिँ किन ल्याउन पाउने त? अन्य डिजिटल सामान आयातमा किन प्रतिबन्ध लागेन? मोबाइल अत्यावश्यक हैन भने घडी चाहिँ हो त? यसले पनि सरकारी नीतिको अस्पष्टता देखिन्छ।
३-अब नेपालमा रहेको विदेशी मुद्रा मोबाइल आयातमा खर्च नै भएको छैन, कसरी विदेशी मुद्रा गुमायो सरकारले?
व्यापारीहरूले नेपालमा मोबाइल नल्याए पनि कुन च्यानलबाट आए त ती मोबाइल बजारमा? कसैले अनुगमन गर्यो? पहिला बजारमा ७० प्रतिशत वैध अनि ३० प्रतिशत अवैध मोबाइल हुन्थे। यो प्रतिबन्धपछि अहिले बजारमा ७० प्रतिशत अवैध अनि ३० प्रतिशत मात्रै वैध मोबाइल छ। सरकारले प्रतिबन्ध लगाएपछि सामसङले यो बीचमा कुनै नयाँ मोबाइल ल्याएकै छैन। तर, त्यही ब्रान्डका नयाँ मोबाइल कसरी आयो बजारमा? एप्पलले पनि ल्याएको छैन। तर, बजारमा जानुस् त ८-१० हजार बढी लिएर बिक्री भइरहेका छन् त।
'विदेशी मुद्रा सञ्चिति नबढेसम्म अटो, मोबाइल र विदेशी मदिराको आयात प्रतिबन्ध खुल्दैन'
राष्ट्र बैंकले एलसी खाेल्दा बैंकहरू पोस्ने र व्यापारी सेक्ने नीति लियो : अध्यक्ष ध्रुव थापा
यसले औपचारिक माध्यमबाट मोबाइल आयात रोकिए पनि अनौपचारिक माध्यमबाट त मोबाइलहरू आइरहेको देखिएन र! सरकारले नेपालबाट विदेशमा जाने विदेशी मुद्रा गएन मात्र भनेर हेर्यो। तर, विदेशबाट आउने रकम आयो कि आएन भनेर हेरेन।
अवैध रूपमा नेपालमा मोबाइल भित्रिँदा विदेशबाट नेपाल आउनसक्ने विदेशी मुद्रा उतै रोकिएनन् र? अहिले विदेशबाट नेपाल आउने नेपालीहरूले मोबाइल बोकेर आउन थालेका छन्। अब उनीहरूले ल्याउने पैसाले उतै मोबाइल किनेर नेपाल ल्याए पनि नेपाल आउने विदेशी मुद्रा रोकिएन उतै? विदेशी मुद्रा गएन भनेर एकपक्षीय रूपमै मात्र हेर्नु भएन भन्ने हो हाम्रो माग।
४-विदेशी मदिरा, गाडी अनि मोटरसाइकल पनि रोकिएकै छन्। मोबाइल पनि रोक्नुको केही कारण त होला नि!
गाडी र मोटरसाइकलको अलग कुरा भयो। कि यी आयातै गरेर नेपाल ल्याउनुपर्छ। नत्र भन्सार छलेर गाडी र मोटरसाइकल नेपाल ल्याएर बिक्री गर्न सम्भव छैन। अब मोबाइल र विदेशी मदिराको आयात रोक्दा बजारमा त त्यसको नकारात्मक असर देखिइसक्यो नि! बजार डुल्दा हुन्छ कति छन् अहिले भन्सार छलेर मोबाइल देखिहालिन्छ। आजबाट बल्ल सरकारले एमडिएमएस लागु गर्यो। नत्र त जुन मोबाइल, जहाँबाट जसरी ल्याए पनि त्यसको अनुगमन गर्ने संयन्त्र थिएन। यसले औपचारिक आयातको बाटो बन्द भएपछि अनौपचारिक बाटो खुलायो।
अर्को विदेशी मदिराको आयात रोक्दाको असर बजारमा देखिन त? केही समय अगाडि प्रहरीले विदेशी ब्रान्डका नक्कली मदिरा बनाउने कारखानामै छापा मार्यो। बजारमा माग घटेको छैन। तर, सामान छैन। यही मौकामा गलत सोच भएकाहरूले डबल ब्ल्याक, चिवास रिगल जस्ता विदेशी ब्रान्ड पनि नक्कली बनाउन थाले। यो आयातमा लागेको नक्कली प्रतिबन्धको नकारात्मक प्रभाव हैन?
५- नेपालमा मोबाइलको बजार चाहिँ कति हो?, अनि यो प्रतिबन्धबारे सरकारी निकायका अधिकारीसँग छलफल भएको छैन?
नेपालमा वार्षिक ५५ अर्ब हो मोबाइलको बजार। यसबाट राज्यले पाउने राजश्व हिसाब गर्नुस् त यो ६ महिनामा कति राजश्व गुम्यो। अब देशको अर्थतन्त्र साँच्चिकै समस्यामा परेको हो भने त देश डुबे डुबोस् हामीलाई मोबाइल बेच्न दे भनेर कसले भन्छ र। हामी व्यापारी बस्ने पनि यहिँ त हो।
सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेका हौं। कुन सामान प्रतिबन्ध लगाउँदा त्यसको बजारमा कस्तो असर परिरहेको छ अनि विदेशी मुद्रामा कस्तो असर परेको छ पनि भनेका हौं। छलफलमा हामीले बुझेका छौं, प्रतिबन्ध हट्छ भन्नुभएको थियो। तर, चार सामानको मात्र आयात रोक्ने निर्णय पो आयो।
भदौ ३०, २०७९ बिहीबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।