बेथानचोक पहिरो अपडेट: दाजुबहिनीसहित आमाको पनि मृत्यु

बेथानचोक पहिरो अपडेट: दाजुबहिनीसहित आमाको पनि मृत्यु

काठमाडौं: काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गाखानीमा गएको पहिरोले एकाबिहानै एकै परिवारका तीन जनाको ज्यान लिएको छ। घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट झरेको पहिराले पुरिएर दाजु नीरबहादुर तामाङ र बहिनी सावित्री तामाङको घटनास्थलमा नै मृत्यु भएको हो भने आमा ठूलीमायाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ४४ वर्षीय नीरबहादुर र ४० वर्षीया सावित्रीको शव पहिरोले पुरिएको अवस्थामा निकालिएको हो। पहिरोले उनीहरूको घर नै पुरिएको थियो।

६५ वर्षीया ठूलीमाया भने सख्त घाइते भएकी थिइन्। उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले दाजु बहिनीको शव निकालेको हो।

भदौ ३०, २०७९ बिहीबार १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।