संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन: शहरी विकासमन्त्री चौधरी

काठमाडौं: शहरी विकासमन्त्री मेटमणि चौधरीले संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक रहेको बताएका छन्।
बाराको सिमरामा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन्।
उनले भने, "कांग्रेस र कम्युनिष्ट फरक धारका पार्टी भए पनि संविधान जोगाउन मिल्नुपरेको छ। अझ बलियो एकता बनाउनुपर्ने छ। निर्वाचनपछि थप दल पनि एकतामा आउनेछन्।"
मन्त्री चौधरीले किसान श्रेष्ठले मापदण्डअनुसार तनहुँ छोडनुनपर्ने भए पनि रामचन्द्र पौडेलका लागि उनी बारा- ४ बाट उम्मेदवार बन्नलागेको बताए। 'जसले निर्वाचन क्षेत्र हेर्नसक्छ, देश हेर्नसक्छ, त्यसलाई हेर्नुपर्छ। अब जात, धर्म र समुदाय मात्रै हेर्ने होइन। जनताले यो कुरा बुझिसकेका छन्', मन्त्री चौधरीले भने।
उनले एमालेले जिते यो प्रणाली नै समाप्त हुने पनि बताए। यस्तै शेरबहादुर देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नैपर्ने अवस्था आएको उनको भनाइ थियो।
ओली घमण्ड, कुबुद्धि र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए।
गढीमाई मन्दिरको निरीक्षण, साना किसान कृषि सहकारी सिमराको वार्षिकोत्वस कार्यक्रमलाई सम्बोधन गर्नुका साथै मन्त्री चौधरीले कार्यकर्ता भेटघाट पनि गरेका थिए।
भदौ ३०, २०७९ बिहीबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।