पोखरामा माइक्रो बसको ठक्करबाट वृद्धा र गोर्खामा जीप र मोटरसाइकल ठोकिँदा १८ वर्षीय युवाको मृत्यु

पोखरामा माइक्रो बसको ठक्करबाट वृद्धा र गोर्खामा जीप र मोटरसाइकल ठोकिँदा १८ वर्षीय युवाको मृत्यु

कास्की: पोखरा महानगरपालिका- ३० शिशुवामा बुधबार साँझ माइक्रो बसले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु भएको छ। पोखरा महानगरपालिका- ३१ मोहरियाका ७८ वर्षीया देवकला बञ्जराको मृत्यु भएको हो।

हिजो साँझ सवा ६ बजे, ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बञ्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ।

माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै गोर्खाको गोर्खा नगरपालिका- १३ भडारी भीरमा हिजो बेलुकी जीप र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा नगरपालिका- ६ बतासेका अन्दाजी १८ वर्षीय आशिष बसेल रहेका छन्।

गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो।

गोर्खाबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग२च २२९१ नम्बरको जीप र विपरीत दिशाबाट आउँदै गरेको बा५६प २४०८ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे आपसमा ठोकिएका हुन्।

दुवै सवारी साधन र जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ ३०, २०७९ बिहीबार ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।