बेथानचोकको ढुङ्गा खानीमा पहिरो खस्दा घर पुरियो, दाजु-बहिनीको शव फेला आमा गम्भीर घाइते

काभ्रे: बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। राति २ बजे गएको पहिरोमा परी एक जना घाइते भएका छन्।
जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा ४४ वर्षीय नीरबहादुर तामाङ र उनकी बहिनी ४४ वर्षकै सावित्री तामाङ रहेका छन्।
नीरबहादुरकी आमा लादुलुङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको खानीमाथिबाट झरेको पहिरोमा परी घरसहित एकै परिवारका दुई जना पुरिएका हुन्। घटनापश्चात् सुरक्षाकर्मीको टोलीले गरेको खोजतलासमा दुई जनाको शव निकालेको उनले बताए।
पालिकाभित्र सञ्चालित खानी तथा उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ताअगाडि मात्रै निर्देशन दिएको थियो।
भदौ ३०, २०७९ बिहीबार ०८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।