महाभियोग सिफारिस समितिले बोलाएको छलफलमा सर्वोच्चका न्यायाधीश उपस्थित नहुने

काठमाडौं: संघीय संसद्को महाभियोग सिफारिस समितिले बोलाएको छलफलमा सर्वोच्च अदालतका कुनै पनि न्यायाधीश उपस्थित नहुने भएका छन्। बुधबार अपराह्न बसेको सर्वोच्चको पूर्ण बैठकले समितिमा उपस्थित हुनु र सवाल-जवाफ गरिनु संविधानसम्मत् नभएको भन्दै उपस्थित नहुने निर्णय गरेको हो।
पूर्ण बैठकले समितिलाई जानकारी दिँदै भनेको छ, 'महाभियोग सम्बन्धी कारबाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल-जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगिकार गरेका मान्यताहरू समेतका कुनै पनि दृष्टिले संविधानसम्मत्, उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रअनुसार कुनै पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकाले सोही बेहोराको जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाई दिने।'
निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले यसअघि बयानका क्रममा विभिन्न न्यायाधीश, पूर्व न्यायाधीश तथा बारका पदाधिकारीहरूको नाम लिएका थिए। उनीहरूलाई नै समितिले आज छलफल गर्नेगरी छुट्टाछुट्टै समयमा बोलाएको थियो।
भदौ ३०, २०७९ बिहीबार ०८:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।