जोखिमपूर्णरूपमा भारत पुर्‍याइएका १६ बालकको उद्धार, अधिकांश १२ वर्षमुनिका

जोखिमपूर्णरूपमा भारत पुर्‍याइएका १६ बालकको उद्धार, अधिकांश १२ वर्षमुनिका

काठमाडौं: जोखिमपूर्णरूपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ। भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको हो।

शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईका अनुसार उनीहरूलाई रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्याइएको थियो। उनी भन्छिन्, "ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।”

उद्धार गरिएकामा नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिका छन्। उनीहरूमध्ये अधिकांंश १२ वर्षमुनिका छन्।

बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानूनी प्रक्रिया मिलाएर बालकलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको संयोजक भट्टराईको भनाइ छ।

उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ। अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरूलाई भारत पुर्याउने व्यक्तिको पहिचान हुन सकेको छैन।

भदौ ३०, २०७९ बिहीबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।