हाजिरी गरेर भाग्ने सांसदहरूबाट भिनसेनदास प्रधान दिक्क, भन्छन्- ‘बायोमेट्रिक हाजिरी राखौं’

काठमाडौं : सांसद भिमसेनदास प्रधानले संसदमा बायोमेट्रिक हाजिरी प्रणाली राख्न माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले संसदमा पूरै समय बस्ने र नबस्नेहरूलाई एउटै डालोमा राख्ने परम्परा बसेकाले संसदको इज्जत जोगाउन भए पनि बायोमेट्रिक हाजिरी प्रणाली राख्न आग्रह गरे।
‘संसदमा हाजिर गर्ने र तलब भत्ता पकाएर भाग्ने भन्ने विषयमा समाचार सम्प्रेषण भइरहेका छन्,’ उनले भने, ‘संसदमा पूरै समय बस्ने र नबस्नेहरूलाई एउटै डालोमा राख्ने परम्परा बस्यो, मूल्याङ्कन भएन, अर्को अधिवेशनदेखि हाजिर कापीमा हाजिर गर्ने नभई बायोमेट्रिक एटेन्डेन्स सिस्टम राखौं।’
विधेयक पारित गर्दासमेत गणपुरक संख्या नपुग्ने गरेको तीतो यथार्थलाई समेत उनले बैठकमा उठाए।
उनले थपे, ‘विधेयक पारित गर्दा गणपुरक संख्या नपुग्ने र तीन मिनेट घण्टी बज्दा पनि गणपुरक संख्या नपुग्ने अवस्था देखिएको छ।’
सांसदको सही मूल्याङ्कन गर्नको लागि बायोमेट्रिक हाजिरी राख्नैपर्ने उहाँको अडान छ।
भदौ २९, २०७९ बुधबार १३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।