गहना लगाएकाहरूकाे पिछा गरेर एकान्तमा सुन लुटेकाे आराेपमा ६ जना पक्राउ

गहना लगाएकाहरूकाे पिछा गरेर एकान्तमा सुन लुटेकाे आराेपमा ६ जना पक्राउ
सांकेतिक तस्बिर

भक्तपुरः सुनका गहना लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर र काभ्रेका विभिन्न स्थानहरूमा सुनका गहना लगाएका व्यक्तिहरूलाई पिछा गरेर एकान्तमा पारी गहना लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा उदयपुरका २३ वर्षीय विशाल राई, सिन्धुलीका २० वर्षीय आर्यन माझी, मोरङका ४० वर्षीय चन्द्र बहादुर विक र भारत महाराष्ट्रका ३५ वर्षीय अमोल भोस, काभ्रेपलाञ्चोकका २२ वर्षीय बुद्ध तामाङ र २१ वर्षीय सुदिप भण्डारी रहेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाइकल सहित लुटपाटमा संलग्नमध्ये बुद्ध, विशाल, आर्यन र सुदिपलाई पक्राउ गरेको हो।

साथै लुटिएको सुनको स्वरूप परिवर्तन गर्ने चन्द्र बहादुर र लुटिएको सुन किन्ने अमोललाई लुटिएको करिब २ तोला सुन सहित काठमाडौं चाबहिलबाट पक्राउ गरिएको छ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भदौ २९, २०७९ बुधबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।