राष्ट्र बैंकले एलसी खाेल्दा बैंकहरू पोस्ने र व्यापारी सेक्ने नीति लियो : अध्यक्ष ध्रुव थापा

काठमाडौं : विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले विभिन्न वस्तुको आयतमा प्रतिबन्ध लगायो। आयतमुखी नेपाली अटोमोबाइल बजार अहिले ठप्प छ।
भदौ ७ गते हुने भनिएको नाडा अटो शो तत्काल नहुने भएको छ। सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय सवारी (इभी) एक्सपो २०२२ गर्ने निर्णय गरेको हो।
नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको थियो। यसै विषयमा नाडा अटो एशोसियसनका अध्यक्ष धु्रव थापासँग उकेराले गरेको कुराकानीः
भदौमा भनिएकाे अटो शो रोक्नुभयो नि, किन?
जहिलेसम्म आयातमा सहज हुँदैन तबसम्म नाडा अटो शो गर्न नसक्ने भयौं। त्यसकारण हामीले विद्युतीय सवारी (इभी) एक्सपो असोज ६ देखि ९ गतेसम्म गर्ने भएका छौं।
राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा सुधार नआउन्जेल रोक्ने निर्णय कस्ताे लाग्याे?
विदेशी मुद्रा सञ्चिति त बढ्ला। तर, राजस्व पनि गुम्ला नि! यतातर्फ पनि सोचेको होला भन्ने मलाई लाग्छ। अब विदेशी मुद्रा सञ्चिति दर बढिरहेको छ। अविलम्ब फुकुवा गर्नुपर्छ राष्ट्र बैंकले।
गाडी आयातमा प्रतिबन्धले व्यवसायीलाई कति घाटा लगायाे?
घाटा नाफा भन्दा पनि डिलर जोगाउन गाह्रो भएको छ। कर्मचारीलाई तलब खुवाउन सक्ने स्थीतिमा छैनौं। यस्तै अवस्था रहे व्यवसायी नै पलायन हुनसक्छन्।
अन्तर्राष्ट्रिय संस्थाहरूले पनि आयातमा लगाएको प्रतिबन्धमा ध्यानाकर्षण भएको बताएकाे छ, यसमा कुनै टिप्पणी?
राष्ट्र बैंकले वित्तीय व्यवस्थापन गर्न विभिन्न मेकानिजम बनाएकै थियो। किन आयातमा प्रतिबन्ध लगाएको मैले बुझ्न सकेको छैन। आयात नै रोक्नु गलत हो। अन्तर्राष्ट्रिय संस्थाहरूले आवाज त उठाउने नै भए।
अटोमोबाइलका सामान आयातकाे एलसी खोल्दा ५० प्रतिशत मार्जिन राखेको छ, कस्ताे लाग्याे याे निर्णय?
यो त सिधै बैंकलाई पोस्न ल्याएको नीति हो राष्ट्र बैंकले। एलसी खोलेको तीन महिना जतिमा सामान आउँछ। विना ब्याज हाम्रो पैसा बैंकमा रहन्छ। बैंकलाई पोस्ने नीति मात्रै ल्याएको छ राष्ट्र बैंकले। व्यापारीलाई सेक्ने नीति देखियो। यो फिर्ता हुनुको विकल्प देखिन्न। आयात खुल्नुपर्छ र मार्जिन हटाउनुपर्छ भन्ने हाम्रो माग हो।
भदौ २९, २०७९ बुधबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।