बुधबार पनि भीभीआईपी सवारी, कालिमाटी-महाराजगञ्ज सडक प्रभावित हुने

बुधबार पनि भीभीआईपी सवारी, कालिमाटी-महाराजगञ्ज सडक प्रभावित हुने

काठमाडौंः भीभीआईपी सवारीका कारण आज दिउँसो कालिमाटीदेखि महाराजगञ्जसम्मको सडक प्रभावित हुने भएको छ।

चिनियाँ कंग्रेसका अध्यक्ष ली चान्शुको भ्रमणका कारण दिउँसो साढे ३ बजे आसपास कालिमाटी–त्रिपुरेश्वर–जमल–लाजिम्पाट–महाराजगञ्ज मा सवारी आवागमन प्रभावित हुने भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

लीले दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। सोल्टी होटलमा बसेका लीले भण्डारीसँगको भेटका लागि उक्त मार्ग प्रयोग गर्ने भएकाले सो मार्गमा आवागमन प्रभावित हुने भएको हो।

कार्यालयले उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ।

भीभीआईपी सवारीका कारण साेमबारदेखि नै काठमाडाैंकाे सवारी आवागमनमा समस्या उत्पन्न भइरहेकाे छ। सर्वसाधारण लामाे समयसम्म जाममा बस्नुपर्दा आक्राेशित भएका छन्।

यसअघि लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

सोमबार काठमाडौं आइपुगेका उनले सोही दिन सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए।

भदौ २९, २०७९ बुधबार ०९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।