सर्वोच्चमा सिफारिस तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान, नाम र ठेगाना गोप्य राखिने

सर्वोच्चमा सिफारिस तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान, नाम र ठेगाना गोप्य राखिने

काठमाडौं : संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भएका व्यक्तिविरुद्ध उजुरी वा सूचना भए पठाउन आग्रह गरेको छ।

बुधबार सार्वजनिक सूचना निकालेर समितिले न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीबारे उजुरी वा सूचना दिन आग्रह गरेको हो।

‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्न उनीहरू उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति असोज ७ गतेभित्र समितिमा समक्ष सूचना वा उजुरी दिन सकिनेछ‘, सूचनामा भनिएको छ।

सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा नाम गोप्य राखिने सूचनामा उल्लेख छ।

गत भदौ २१ को न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।  सर्वोच्चमा हाल दुई न्यायाधीशको स्थान रिक्त छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशसमेत २१ न्यायाधीश सर्वोच्चमा रहनेछन्।

परिषद्ले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीलाई न्यायाधीशमा सिफारिस गरेको हो। दीक्षित हाल उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश छन्। शर्मा उच्च अदालत जनकपुरमा कायम मुकायम मुख्य न्यायाधीश छन्।  पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुन्। हालै उनले वरिष्ठ अधिवक्ताको उपाधि पाएका थिए।

भदौ २९, २०७९ बुधबार ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।