संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयककाे बारेमा जानकारी दिइने

संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयककाे बारेमा जानकारी दिइने

काठमाडौं : संघीय संसद्अन्तर्गत दुवै सदनकाे बैठक आज (बुधबार) बस्दैछ।

बिहान ११ बजे बस्ने ताेकिएकाे दुवै सदनकाे बैठकमा सभामुख र अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन्। उनले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन्। 

सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि उनले प्रमाणीकरण गरेकी थिइन्।

आजकै प्रतिनिधि सभा बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै राष्ट्रिय सभा बैठकमा भने प्रतिनिधि सभाबाट प्राप्त केही नेपाल ऐनलाई  संशाेधन गर्न बनेकाे विधेयकलाई टेबल गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक सम्बन्ध्ी विधायन व्यवस्थापन समितिको प्रतिवदेन सभामा पेश गर्ने र अर्थ मन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ता प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

भदौ २९, २०७९ बुधबार ०७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।