एआईजी सहकुललाई निर्वाचन सेलबाट हटाएर डीआईजीलाई जिम्मा  

एआईजी सहकुललाई निर्वाचन सेलबाट हटाएर डीआईजीलाई जिम्मा  

काठमाडौं : एमाले नेताहरूसँग निकट सम्बन्ध रहेको आरोप खेप्दै आएका एआईजी सहकुलबहादुर थापालाई सरकारले निर्वाचन सुरक्षा समेत हेर्ने कार्य विभागबाट सरुवा गरेर प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उनको सरुवाको निर्णय गरेको हो। प्रहरीको कार्य विभागको जिम्मेवारीमा निर्वाचन सुरक्षा समेत थियो। कार्य प्रहरी परिचालनको नेतृत्व गर्ने विभाग हो।

उनलाई एमाले नेतृत्वको सरकारले प्रहरी महानिरीक्षक बनाउने रणनीति अनुसार विश्वराज पोखरेलपछि एकल एआईजी बढुवा गरेको थियो। उनी र पोखरेललाई आईजीपीमा रोक्न गठबन्धनको सरकारले धिरजप्रताप सिंहलाई एकल एआईजीमा बढुवा गरेर उनैलाई प्रहरी प्रमुख बनाएको थियो।

मोरङ प्रहरी प्रमुख हुँदा पर्शुराम बस्नेतसँग निकट रहेका उनी एमालेमा पनि महेश बस्नेत निकट मानिन्छन्। आईजीपीमा सिंहको नियुक्तिपछि बिदामा बसेर अदालत जाने तयारीमा रहेका थापालाई गृहमन्त्री बालकृष्ण खाँणले फकाएर अदालत जान रोकेका थिए।

उनको इच्छाअनुसार कार्यमै राखे। तर, निर्वाचनको सुरक्षा तयारीकै क्रममा एकाएक उनको सरुवा भयो। सरकारमा रहेका दलमध्ये विशेष नेपाली कांग्रेस उनको सरुवाको पक्षमा थियो।

यहीबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी मुकुन्द राज आचार्यले भदौ २३ बाट अवकाश पाए। तालिम केन्द्र रित्तो भएसँगै सरकारले उनलाई निर्देशक पदमा सरुवा गर्यो।

उनको सरुवापछि केन्द्रीय निर्वाचन सेलमा एसएसपीबाट डीआईजीको बढुवामा सबैलाई पछि पार्दै पहिलो नम्बरमा बढुवा पाएका  वसन्त कुँवरलाई ल्याइयो। 

भदौ २८, २०७९ मंगलबार २२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।