बन्द, हड्तालका कार्यक्रम फिर्ता लिन ढुवानी व्यवसायीलाई निगमको आग्रह

काठमाडौंः नेपाल आयल निगमले असोज १ गतेदेखि पेट्रोलियम पदार्थको लोडअनलोड नगर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका ढुवानी व्यवसायीलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।
मंगलबार विज्ञप्ति निकालेर निगमले चाडबाडको बेला आउन लागेको र व्यवसायीसँग निगम व्यवस्थापनले पटक–पटक छलफल गरेको भन्दै आन्दोलन तथा बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो।
इन्धनको आपूर्तिमा अवरोध हुँदा हवाई यात्रुलगायत सर्वसाधरणमा सन्त्रास पैदा भएको भन्दै निगमले बन्द हडतालका सम्बन्धमा मुलुकको विद्यमान कानुनी व्यवस्थालाई समेत ख्याल राख्दै आन्दोलन एवं अवरोधका फिर्ता लिन आग्रह गरेको हो।
निगमले चाडबाडको पूर्वसन्ध्यामा विभिन्न विदेशी हवाई कम्पनीले नयाँ तथा थप उडान सन्चालन गर्ने जानकरी प्राप्त भएको भन्दै व्यवसायीको हड्तालका कारण हवाई इन्धन उपलब्ध गराउन नसकिने जानकारी गराउनपर्दा दुःख लागेकाे जनाएकाे छ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजन लगायतका विभिन्न माग राख्दै पेट्रोलियम पदार्थकाे ढुवानी गर्न नसकिने भन्दै ट्याङ्कर नै सरकारलाई बुझाउने तयारी गरेकाे छ।
चाडबाड पारेर आन्दोलनमा ट्याङ्कर व्यवसायी, महासचिव भन्छन्' गाडी नै बुझायौँ, सके सरकारले चलाए हुन्छ'
भदौ २८, २०७९ मंगलबार २२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।