इन्जिनियरलाई शहरी विकास मन्त्रीको निर्देशन– ‘पैसाको पछि कहिल्यै नलाग्नू’

इन्जिनियरलाई शहरी विकास मन्त्रीको निर्देशन– ‘पैसाको पछि कहिल्यै नलाग्नू’

काठमाडौंः शहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरूलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन्।

लोकसेवाबाट सिफारिस भएका ५९ इन्जिनियरलाई मन्त्रालय स्वागत गर्दै मन्त्री चौधरीले भने इमान्दारिपूर्वक काम गर्न र पैसाका पछाडि नलाग्न निर्देशन दिए।

‘राज्यले तपाईंहरूमाथि ठूलो लगानी र भरोसा गरेर जिम्मेवारी दिएको छ,’ उनले भने, ‘जवाफदेही बन्नुहोला, कहिल्यै पैसाका पछि नलाग्नुस्, इमान्दारीपूर्वक काम गरेमा पैसा आफैँ पछि लाग्छ।’

इन्जिनियरले पैसा नखाइ कलम नै चलाउदैनन् भन्ने गुनासो व्यापक सुनिएको भन्दै मन्त्री चौधरीले जनताको सेवामा ध्यान दिन र जनताको मन दुख्ने भाषा नबोल्न निर्देशित गरे।

‘जनतालाई पिर पर्ने काम नगर्नुस्, मन दुख्ने भाषा नबोल्नुस्,’ उनले भने, ‘मातहतका कर्मचारीलाई नहेप्नुस्, नथर्काउनुस्, राम्रो संस्कार देखाउनुस्।’

ठूला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र पोष्टिङ भएकै ठाउँमा गएर काममा खटिनसमेत मन्त्री चौधरीले निर्देशन दिए।

इन्जिनियरिङ सेवा सिभिल समूह अन्तर्गत विल्डिङ र आर्किटेक तर्फ ४१ र जनरल उपसमुहतर्फ १८ जना इन्जिनियरहरुलाई मन्त्रालयका सचव डा. रमेशप्रसाद सिंहले सपथग्रहण गराएका थिए।

भदौ २८, २०७९ मंगलबार १८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।