नक्कली पेस्तोल देखाएर 'प्रहरी हौँ' भन्दै कात्यायनी मन्दिर नजिकको मोबाइल पसल लुटपाट, दुई जना पक्राउ

नक्कली पेस्तोल देखाएर 'प्रहरी हौँ' भन्दै कात्यायनी मन्दिर नजिकको मोबाइल पसल लुटपाट, दुई जना पक्राउ

काठमाडौं: नक्कली पेस्तोल देखाएर लुटपाटमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन्। उनीहरूका साथबाट दुई थान नक्कली पेस्तोल र सोको पाँच थान गोली समेत प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-६ घर भई हाल काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बालसुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन्।

काठमाडौं महानगरपालिका-३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाइल पसलमा सापकोटासहित दुई जना व्यक्तिहरूले अनलाइनमार्फत मोबाइल किन्छु भन्दै पसलमा गई 'प्रहरी हौँ' भनी नक्कली पेस्तोल देखाएर तीन थान मोबाइल लुटपाट गरेका थिए।

घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको तीन थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ। 

भदौ २८, २०७९ मंगलबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।