माओवादीले कास्कीबाट सिफारिस गरेको उम्मेदवारहरूमा पटक-पटक पराजित र आलोचितहरू सामेल

पोखरा: मंसिर ४ गते हुने निर्वाचनका लागि कास्कीबाट नेकपा माओवादी केन्द्रले सम्भावित उम्मेदवारहरूको सूची केन्द्रमा पठाएको छ। आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सत्तारुढ पाँच दलबीच चुनावी तालमेल गर्न केन्द्रमा रस्साकस्सी चलिरहेको बेला कास्कीबाट भने गठबन्धनका दलहरूले एक्लाएक्लै उमेदवारको सूची केन्द्रमा पठाएका छन्।
यसअघि कांग्रेस र एकीकृत समाजवादीले पनि सम्भावित उमेदवारहरूको सूची केन्द्रमा पठाएका थिए। तालमेल पर्खिरहेको माओवादी केन्द्रले पनि कांग्रेस र समाजवादीले उम्मेदवारहरूको नाम सिफारिस गरेपछि केन्द्रमा उम्मेदवारहरूको नाम पठाएको हो।
तीन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा क्षेत्र रहेको कास्कीमा कांग्रेस, एमाले, माओवादी, समाजवादी लगायतका पार्टीहरूले दर्जनौँको संख्यामा उम्मेदवार सिफारिस गरेका छन्। सिफरिस भएका उम्मेदवारहरूमा पूर्वमन्त्रीदेखि वडा सदस्यमा पराजित भएकाहरूसम्मको नाम छ।
माओवादीले सिफरिस गरेका उम्मेदवारहरूमा पनि पटक पटक निर्वाचनमा पराजित भएकादेखि निर्वाचित भएर पनि आलोचित भइसकेका अनुहारहरू छन्।
माओवादी केन्द्रले कास्कीबाट प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर ४५ जनाको नाम सिफारिस गरेको छ।
कास्कीको निर्वाचन क्षेत्र नम्बर १ का लागि राजकाजी गुरुङ ‘करण’, योशादा सुवेदी गुरुङ, तेजकुमारी पौडेल र शिवजी लामिछानेको नाम सिफारिस भएको जिल्ला पार्टी कमिटीले जनाएको छ। करण यसअघि २०७४ को प्रदेश सभा निर्वाचनमा कास्कीको क्षेत्र नं २ ‘ख’बाट कांग्रेसकी विन्दुकुमारी थापासँग पराजित भएका थिए।
प्रदेश सभा क्षेत्र नं १ ‘क’ मा दीपक कोइराला, विश्वप्रकाश लामिछाने, विमला पहारी, छवि लामिछाने र अमरदीप पराजुलीको नाम सिफारिस भएको छ। १ (ख) मा गायत्री गुरुङ, शरदचन्द्र बराल, तोरण गुरुङ र सूर्यप्रकाश तिवारीको नाम सिफारिस भएको छ।
सिफारिस गरिएका दीपक र गायत्री हाल गण्डकी प्रदेश सभा सदस्य हुन्।
क्षेत्र नम्बर २ बाट सुमन देवकोटा र गंगा पोखरेलको नाम सिफारिस भएको छ। सुमन देवकोटा वाईसीएलका अध्यक्ष हुन भने पोखरेल भूमि आयोगको कास्की अध्यक्ष हुन्।
प्रदेश सभा २ (क) मा जनकराज पराजुली र भक्तबहादुर खत्री सिफारिस भएका छन्। २ (ख) मा विनय थापा, हरिनारायण गिरी, रुद्र विश्वकर्मा र रामजी आचार्यको नाम सिफारिस भएको छ।
क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा रामजीप्रसाद बराल, दुर्गाकुमारी विक, नवराज भण्डारी र बलराम सुवेदीको नाम सिफारिस भएको छ। बराल हाल गण्डकीका अर्थमन्त्री समेत हुन्। सवारी दर्ता र नवीकरणमा अचाक्ली कर वृद्धि गरेपछि उनी आलोचित भएका थिए।
प्रदेश सभा ३ (क) बाट सिर्जना त्रिपाठी, भोजराज पौडेल, आशमान रोका, तीर्थ लुइँटेल र टंकप्रसाद अधिकारी नाम सिफारिस भएको छ। त्यस्तै ३ (ख) बाट त्रिभुवन पौडेल, हरिप्रसाद भण्डारी, अग्नि कँडेल, दुर्गादत्त भण्डारी र गोविन्द्र अधिकारीको नाम सिफारिस गरिएको हो।
त्यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ बखानसिंह तमु, राजकुमारी दुलाल, जुवेदा खातुन, अनिता भूर्तेल र सोमति गुरुङको नाम सिफारिस गरिएको छ।
त्यस्तै प्रदेशमा जगमाया सुनार, गोमा ढकाल, अलिसा आले, सन्तबहादुर भुजेल र विश्वेश्वर आचार्यको नाम सिफारिस गरिएको छ।
भदौ २८, २०७९ मंगलबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।