पदमा रहे पनि नरहे पनि खुम्बुको विकासमा सधैँ पहल गर्ने: शहरी विकासमन्त्री चौधरी

काठमाडौं: शहरी विकासमन्त्री मेटमणि चौधरीले खुम्बु पासाङ ल्हामु गाउँपालिका–४,पाङ्बोचेमा नवनिर्मित खुम्जुङ स्वास्थ्य चौकीको उद्घाटन गरेका छन्। सोमबार उनले स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका हुन्।
खुम्जुङ स्वास्थ्य चौकी भवन कुल तीन करोड ६९ लाख (भ्याट बाहेक)लागतमा निर्माण गरिएको हो। सीएम कन्स्ट्रक्सन प्रालि जोरपाटीले यसको निर्माण गरेको हो।
१८ महिनामा सम्पन गर्ने भनेर सम्झौता भएको सो भवन ११ महिनामै सम्पन्न गरेकोमा मन्त्री चौधरीले ठेकेदार कम्पनीको प्रशंसा समेत गरे। १२ हजार ८७५ फिटको उचाइमा निर्मित सो भवन सम्भवतः नेपालकै सबैभन्दा उँचो स्थानमा निर्मित सरकारी भवन हो।
कार्यक्रममा मन्त्री चौधरीले विकासको काममा दलभन्दामाथि उठ्नुपर्ने धारणा राख्दै भने, ‘भोलि पदमा रहुँला वा नरहुँला तर खुम्बुको विकासमा सधैँ पहल गर्नेछु। यहाँको जनताको विकासको चाहना पूरा गर्न लागिपर्नेछु।’
उनले सात सय वर्ष इतिहास भएको पाङ्बोचे गुम्बाको निरीक्षण गर्नुका साथै यसको पुनर्निर्माणका लागि सात करोड विनियोजन गर्ने घोषणा समेत गरे।
त्यसैगरी ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नतिका लागि २० करोड, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १२ करोड, हिमाली शहर लुक्लालगायत अन्य तीन शहरको विकास विस्तार गर्न र एकीकृत बस्ती विकासका लागि डीपीआरदेखि हाई अल्टिच्युड स्पोर्ट सेन्टर तथा कन्फरेन्स हल निर्माणका लागि आठ करोड विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
यसैगरी कार्यक्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले खुम्बुको विकासमा विशेष ध्यान दिन मन्त्री चौधरीको ध्यानाकर्षण गराए।
गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको समग्र विकासमा शहरी विकास मन्त्रालयले विगतदेखि नै सहयोग गर्दै आएकोमा ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नति गर्न, सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण गर्न र प्रशासनिक भवन निर्माणका लागि थप बजेट विनियोजन गर्न पनि माग गरे।
कार्यक्रममा शहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ पनि उपस्थित थिए। उनले मन्त्रीले पहल गरेका योजनाहरूमा शतप्रतिशत सहयोग रहने धारणा राखे।
भदौ २८, २०७९ मंगलबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।