करेन्ट लगाएर माछा मार्ने क्रममा सात जनाको मृत्यु भएपछि त्यस्तो काम नगर्न झापा प्रशासनको आग्रह

काठमाडौं: करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा वैशाखयता सात जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले यसपछि आइतबार सूचना जारी गर्दै विगत केही दिनदेखि करेन्ट लागेर विभिन्न घटना–दुर्घटना भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ।
करेन्ट लगाएर माछा मार्ने, विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी नअपनाउने, खुलारूपमा रहेका बिजुलीका नाङ्गा तारले दुर्घटना बढाएकाले त्यस्ता कार्य निषेध गर्न सबै पक्षलाई आग्रह गरेको छ। साथै कार्यालयले अव्यवस्थित तार व्यवस्थित गर्न विद्युत् प्राधिकरणका सबै शाखालाई निर्देशन दिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार साउन १२ गते भद्रपुर–४ मा खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा भद्रपुर–७ का ४० वर्षीय भोटलाल गणेशको मृत्यु भएको थियो। भद्रपुर–४ स्थित आमडाँगीमा इलाम टि–प्रोडुसर प्रालिको निर्माणाधीन भवनमा काम गर्दै आएका उनी सोही निर्माणाधीन भवनको करिब तीन सय मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्न गएका उनको घटनास्थमै मृत्यु भएको हो।
यस्तै गत शनिबार मात्रै जिल्लाको हल्दिबारी, बुद्धशान्ति र मेचीनगरमा एक–एक जनाले सोही क्रममा ज्यान गुमाए।
बुद्धशान्ति–२ मा आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइलीले बुद्धशान्ति–३ स्थित कुलोको पानीमा करेन्ट लगाइ माछा मार्ने क्रममा अकालमा ज्यान गुमाए भने सोही दिन मेचीनगर–५ स्थित हडिया खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा मेचीनगर–११ धाइजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारका क्रममा मृत्यु भयो।
यस्तै हल्दिबारी गाउँपालिका–५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङको भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो।
स्थानीय खोला–नालामा विद्युत् प्रवाह गरी माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर अकालमै बर्सेनी कैयौँले अकालमै ज्यान गुमाउने गरेका छन्। सो क्रममा अधिकांशको घटनास्थलमै र केहीको उपचारका क्रममा मृत्यु हुने गरेको छ।
भदौ २८, २०७९ मंगलबार ०७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।