मिटरब्याजी सम्बन्धी प्रतिवेदन : एकै व्यक्तिले २३ जना मिटर ब्याजीविरुद्ध दिए उजुरी ,उजुरी सङ्ख्या २ हजार २ सय ८९

मिटरब्याजी सम्बन्धी प्रतिवेदन : एकै व्यक्तिले २३ जना मिटर ब्याजीविरुद्ध दिए उजुरी ,उजुरी सङ्ख्या २ हजार २ सय ८९

काठमाडौँ : मिटर ब्याज सम्बन्धी समस्याबारे अध्ययन गर्न गठन भएको समितिमा विभिन्न जिल्लाबाट २ हजार २ सय ८९ वटा उजुरी परेको छ। आरोपी २३ जना रहेका छन्।

मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले सोमबार गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन अनुसार कार्यदलमा २ हजार २ सय ८९ वटा उजुरी परेका छन्। उजुरीमध्ये ५९ वटा फरफारक भैसकेको, ७ वटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र ७ वटामा प्रहरीद्वारा अनुसन्धान भइरहेको उल्लेख छ।

नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौँ माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको  'मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष  समिति'सँगको सहमति अनुसार सरकारले कार्यदल गठन गरेको थियो।

कार्यदलले मधेस प्रदेशका सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिराहा तथा प्रदेश नम्बर १ को मोरङ गरी ७ वटा जिल्लामा पुगेर पीडित, स्थानीय जनप्रतिनिधि, बैङ्क, वित्तीय संस्था तथा सहकारीका प्रतिनिधिहरूसँग छलफल गरेको प्रतिवेदनमा उल्लेख छ।

उजुरीका प्रकृतिहरूमा एउटै व्यक्तिका विरुद्ध ४ वा सो भन्दा बढी उजुरी परेका आरोपितहरूको सङ्ख्या ३३ जना छन्। एकै व्यक्तिले २३ जना विरुद्ध मिटरब्याजीको उजुरी समेत दर्ता गरेका छन्।

कार्यदलले प्रतिवेदनमा ३२ बुँदे सिफारिस गरेको गृह मन्त्रालयले जानकारी दिएको छ। प्रतिवेदनमा ऋणीले मिटरब्याजीसँग ऋण लिनुपर्ने बाध्यकारी कारकहरू, श्रमिक तथा गरिब किसानहरूको बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुग्नाका कारणहरू, साहुमहाजनसँग ऋण लिने प्रकृया, मिटरब्याजी विरुद्ध उजुरी गर्दा पनि ऋणी पक्ष कमजोर हुने कारणहरू, मिटरब्याजको दुष्चक्र, मिटरब्याजी विरुद्धको कारवाहीका अन्तर्राष्ट्रिय अभ्यासहरू एवं अदालती प्रकृयामा पीडितको अवस्था बारे उल्लेख छ।

भदौ २७, २०७९ सोमबार १९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।