'विदेशी मुद्रा सञ्चिति नबढेसम्म अटो, मोबाइल र विदेशी मदिराको आयात प्रतिबन्ध खुल्दैन'

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै नेपाल राष्ट्र बैंकले आयतमा कडाइ गरेको पनि ६ महिना पुग्न लागिसक्यो। अन्य आयात खुल्ला गरे पनि गाडी, तीन सय डलर माथिका मोवाइल अनी मोटरसाइकल र विदेशी मदिराको आयातमा अझैँ प्रतिबन्ध कायम छ। विदेशी मदिरामा लागेको प्रतिबन्धको फाइदा उठाउँदै बजारमा नक्कली मदिरा भेटिन थालेका छन्।
उता मोवाइल ब्यवसायीहरुका अनुसार सरकारले आयात रोके पनि बजारमा नयाँ मोवाइल आउनेक्रम रोकिएको छैन र ती भन्सार छलीका हुन्। अहिले बजारमा रहेका तीन सय डलरमाथिका ७५ प्रतिशत मोवाइल भन्सार छलीको रहेको ब्यवसायीहरु नै दाबी गरिरहेका छन्।
दशैं तिहारको अवसर पारेर हुने नाडा अटो शो यो वर्ष निश्चित छैन। भदौ १५ सम्म समय सिमा तोकेको सरकारले फेरि आयत खुला गरिसकेको छैन। उकेराले यी चार वस्तुमा मात्रै किन आयात प्रतिबन्ध अनी आयात प्रतिबन्धबाट विदेशी मुद्रा सञ्चिति कति बढ्यो भनेर नेपाल राष्ट्र बैंकका सहप्रवत्ता नारायण प्रसाद पोखरेलसँग प्रश्न गरेका थियौँ। पोखरेल समक्ष उकेराले राखेको पाँच प्रश्न :
१-आयातमा लागेको प्रतिबन्ध खुकुलो गरे पनि अझैँ चार वस्तुको आयात रोकिएको छ। अहिले विदेशी मुद्रा सञ्चिततिको अवस्था कस्तो छ त ?
विदेशी मुद्रा सञ्चिति ६ महिनालाई पुग्ने मात्रै छ। यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्र धर्मराउन नदिनआवश्यक कदम चाल्छ नै। हामीले आयातमा प्राथमिकताका आधारमा व्यवस्थापन गर्न सक्यौँ भने घट्दो विदेशी मुद्रा सञ्चिति दरलाई कम गराउन सक्छौँ भनेर केही बस्तुको आयात रोकेका हौँ।
त्यसको प्रभाव परेको पनि छ। तथ्यांक नै केलायौँ भने पनि त्यो देखिन्छ। जस्तो जुनमा ११७६.८ विलियन विदेशी मुद्रा सञ्चिति रहेकोमा जुलाईमा १२१५.८ बिलियन पुगेको छ। यसको अर्थ पहिले एकोहोरो घटेको घट्यै थियो। घट्ने दर अहिले कम भएको छ। उस्तै परे कुनै महिनामा केही प्रतिशतले बढेको पनि देखिन्छ।
२-सरकारले पहिला सुपारी, सुख्खा मरिच, छोकडा लगायतको आयात पनि रोकेको थियो। तर पछि त्यसको आयात खुलाएर अटो, मोटरसाइकल, मोवाइल अनी विदेशी मदिराको मात्र आयात रोक्यो। भारत तस्करी हुने सुपारी र मरिच खुल्ने तर चार वस्तुको मात्रै रोक्ने। यो त अलि निती मिलेन कि ?
राष्ट्रबैंकले आयात रोक्का गर्दैन। यसमा प्रष्ट हुन जरुरी हुन्छ। विदेशी मुद्रा सञ्चिति हेरेर व्यवस्थापन मात्रै गर्ने हो। हामीले प्राथामिकता निर्धारण गर्दा अतिआवश्यक बस्तु र अलि कम प्रयोगमा आउने वस्तु भनेर छुट्टयाउछौँ। सुपारी र मरिचको केसमा सरकारले किन आयत खुला गर्यो हामीलाई थाहा हुँदैन। अन्य चार वस्तुमा हामीले कडाइ गर्नुको कारण अन्य बस्तुभन्दा कम प्राथमिकतामा परेको हो। अत्यावश्यक वस्तु ल्याउन नै सकस परेपछि नभए पनि हुने वस्तु व्यवस्थापन गर्नु स्वभाविक हो।
३-दशैं तिहार लाग्यो नाडा अटो मेला भदौ ७ गते देखि लाग्ने कुरा थियो रोकियो भनेपछि तपाईंहरुले यि वस्तुहरु आयत गर्न कडाइ गर्नुहुन्छ ?
अघि भनिहालेँ, विदेशी मुद्रा सञ्चितिमा सुधार नआउन्जेल रोकिनु पर्ने हो। अब अर्काे निर्णय भएको छैन मेरो विचारमा आयतमा व्यवस्थापन हुन्छ नै । अनि जहिले विदेशी मुद्रा सञ्चिति अब चाहिं धान्न सकिन्छ है भन्ने अबस्थामा पुग्छौँ त्यसपछि भने खुला भइनै हाल्छ। अर्काे कुरा कच्चा पदार्थमा कडाइ गरिएको छैन। यहि उत्पादन हुने सामाग्रीको हकमा । यति चाहिं बुझ्न जरुरी छ।
४- पहिले एलसि खोल्दा मार्जिन राख्ने चलन थिएन पछि मार्जिन ५ प्रतिशत थियो अहिले त कसैमा ५० प्रतिशत कतै सत् प्रतिशत राख्नु भयो किन?
आयतमुखी अर्थतन्त्र भयो हाम्रो । अर्थतन्त्रलाई सृदृढबनाउन कै लागि यस्ता नियमहरु राखिन्छन्।
५-विश्व व्यापार संगठनका सदस्य हौँ हामी । कुनै बस्तुमा यसरी सिधै रोक गर्न पाइदैन यसलाई कसरी हेर्नु भएको छ।
हो हामी विश्व व्यपार संगठनको सदस्य पनि हौँ। अर्थतन्त्र धरमराउन लागेपछि देशको परिस्थिति हेरेर निर्णय लिनु पर्यो। ऐन नियम कानून बमोजिम नै हामीले काम गरेको छौँ।
भदौ २७, २०७९ सोमबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।