पाकिस्तान-श्रीलङ्का फाइनल खेलमा भारतीय जर्सी लगाएका समर्थकलाई जर्सी बदल्न दबाब, रङ्गशाला प्रवेश गर्न दिइएन

एजेन्सी: गए राति सम्पन्न एसिया कप फाइनलको उपाधि श्रीलङ्काले जित्यो। पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्का विजेता बन्यो।
तर, सो खेलमा भारतीय समर्थकहरूमाथि भने भेदभावपूर्ण व्यवहार भएको छ। भारतीय जर्सी लगाएर फाइनल हेर्न पुगेका दर्शकलाई त्यहाँ जर्सी बदल्न दबाब दिइएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
उनीहरूलाई पाकिस्तान वा श्रीलङ्कामध्ये एक टिमको जर्सी लगाए मात्र स्टेडियममा प्रवेश गर्न दिइने भनिएको बताइएको छ। भारतीय टोलीलाई समर्थन गर्ने 'भारत आर्मी' नामको फ्यान क्लबले ट्वीटरमा लेखेको छ, 'यो एकदमै स्तब्ध बनाउने व्यवहार थियो कि हामी र अन्य भारतीय क्रिकेट समर्थक भारतको जर्सी लगाएर म्याच हेर्न जान सकेनौँ।'
भारत आर्मीका अनुसार रङ्गशालका अधिकारीहरू र प्रहरीले उनीहरूलाई रोकेका हुन्। भारत आर्मीले यस पोस्टमा क्रिकेटको सर्वोच्च संस्था आईसीसी र एसियाली क्रिकेट परिषद् (एसीसी) लाई पनि ट्याग गरेका छन्।
भदौ २७, २०७९ सोमबार ११:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।