शहरमा समेत होमस्टे विकास गराउने पर्यटनमन्त्री श्रेष्ठको योजना, नागार्जुनमा तालिम संचालन

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शहरी क्षेत्रमा समेत स्थानीय घरबास (होमस्टे) सञ्चालन गर्न सकिने बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नागार्जुन नगरपालिकामा आयोजना गरेको होमस्टे सञ्चालन तालिम उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
उनले शहरी क्षेत्रमा रहेका घरहरूमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवाबापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिने बताए। आफ्ना पाहुनालाई आतिथ्य गर्न घरघरमा रहेका खाली कोठालाई व्यवस्थापन गरी आर्थिक उपार्जन गर्न सकिने उनको भनाइ छ।
स्थानीय जीवनशैली, संस्कृति तथा कलाको प्रवर्द्धन गर्न समेत होमस्टेले सहयोग पुर्याउने उनले बताए। स्थानीय समाज, रहनसहन, संस्कृति र बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न चाहने पर्यटकको रोजाइमा होमस्टे पर्ने भएकोले शहरी क्षेत्रमा समेत यसको सम्भावना रहेको उनले बताए।
पर्यटकीय सम्भावना भएका गाउँ-शहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्नुपर्ने उनको भनाइ छ।
नागार्जुन नगरपालिकाको शरणपुर पर्यटकीय सम्भावनायुक्त क्षेत्र भएकोले सो क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटनको सम्भावना उजागर गर्न होमस्टे तालिम आयोजना गरिएको हो। कार्यक्रममा नगरपालिकाका प्रवक्ता महेश रिमालले नागार्जुन क्षेत्रमा होमस्टे सञ्चालनका लागि तयारी गरिएको जानकारी दिँदै स्थानीय सरकारले पनि पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई प्राथमिकता दिएको बताए।
शरणपुर नमूना बस्ती विकास समितिका अध्यक्ष तुलसी थापाले स्थानीय पर्यटन प्रवर्द्धनमा होमस्टेले सघाउने विश्वास व्यक्त गरिन्।
तालिममा अतिथि सत्कार, बजारीकरण, व्यवस्थापन र खाना बनाउन सिकाउनुका साथै होमस्टे संचालन सम्बन्धी कानूनी तथा अन्य व्यवस्थाहरूबारे प्रशिक्षकले तालिम दिनेछन्। तालिममा ३५ जना स्थानीय सहभागी छन्।
भदौ २७, २०७९ सोमबार ०७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।