आयोजना विस्तार गर्दा जनताको उठिबास हुनु भएन: शहरी विकासमन्त्री चौधरी

आयोजना विस्तार गर्दा जनताको उठिबास हुनु भएन: शहरी विकासमन्त्री चौधरी

काठमाडौं: शहरी विकासमन्त्री मेटमणि चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुनेगरी योजना अगाडि बढाउनुपर्ने बताएका छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले हिजो आयोजना गरेको धोविखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।

उनले भने, ‘आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ। त्यसका साथै पीडित जनता पनि सामेल हुनुपर्छ। छलफलमा ठूला बडा मात्र सहभागी भएको जस्तो हुनुभएन। स्थानीय जनताको साथ सहयोग भएमा मात्र आयोजना सफल हुन्छ।’

मन्त्री चौधरीले डुबानको समस्या समेत हल हुनेगरी छिट्टै धोविखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताए।

त्यसैगरी सांसद गगन थापाले खुद्रा खुद्रामा बजेट गइरहेको तर समस्या जस्ताको तस्तै रहेको सुनाए। उनले बाटो निर्माण गर्दा वर्षाका कारण हुनसक्ने क्षतिबारे समेत ध्यान दिन सुझाए।

काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेलले उपत्यकामा डुबानको समस्या बढ्न थालेपछि धोविखोला कोरिडोर आयोजनाको कार्यक्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता बढेको जनाए।

कार्यक्रममा प्रदेश सांसद कुशुमकुमार कार्की, न्हुछेनारायण श्रेष्ठ, विषय विज्ञ प्रा.डा. नरेन्द्रमान शाक्य, डा. संजय उप्रती, डा. भगवानरत्न कंसाकार, डा. जीवराज पोखरेल, पद्मसुन्दर जोशी, प्रकाशचन्द्र घिमिरे, डा. चिरन्जीवी भट्टराई, गोविन्द शर्मा पोखरेल, कपन–बूढानीलकण्ठ क्षेत्रका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, समाजसेवी लगायत विभिन्न सरोकारवाला पक्षहरूसँग डुबान समस्या समाधानका लागि छलफल गरिएको थियो।

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले शहरी विकासलाई व्यवस्थित बनाउन सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको जानकारी दिइन्।

भदौ २७, २०७९ सोमबार ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।