गठबन्धन छाड्न तयार उपेन्द्रलाई देउवा- प्रचण्डले फर्काए

काठमाडौँ : गठबन्धन छाड्ने तयारीमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आइतबारको शीर्ष दलको बैठकपछि गठबन्धनमा बस्न राजी भएको दाबी आएको छ।
पाँच दलीय गठबन्धनले १३ सिट मात्र दिने भनेपछि रिसाएका यादव गठबन्धनको बैठकमा समेत सहभागी हुन मानेका थिएनन्। आइतबार पाँचै दलका नेता बैठकमा सहभागी भए।
बैठकमा नेपाली कांग्रेस र माओवादीको केही सिट घटाएर जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई दिन शीर्ष बैठकमा सहमति भएपछि उनी सकारात्मक भएको एक नेताले बताए।
'उपेन्द्रजी गठबन्धन छाड्ने तयारीमा हुनुहुन्थ्यो तर अब समाधान भयो' ती नेताले भने' महन्थ समूह एमालेसँग वार्तामा बसेकाले पनि उहाँ यता लचिलो हुनुभयो।'
उपेन्द्रले मधेस प्रदेशमा बहुमत र प्रदेश १ सँगै पहाडी क्षेत्रमा समेत दलको उपस्थिति हुने गरी सिट बाँड्न माग गर्दै आएका छन्। १३ सिट मात्र पाउने भए एक्लै चुनावमा जाँदा फाइदा हुने उनले शीर्ष दलकै बैठकमा बताइसकेका छन्।
शीर्ष बैठकमा सकारात्मक सहमति भएको भनिए पनि प्रतिनिधि सभामा कुन दललाई कति सिट भन्नेमा अझै सहमति भएको देखिएन। बैठकबारे जानकार स्रोत समस्या समाधानै हुने गरी सहमति नभएको तर १६५ क्षेत्रमध्ये ४० हाराहारी सिटमा मात्रै समस्या देखिएको बताए।
'पहिला जसले जितेको उसैलाई दिने कि जित्नेको लोकप्रियता पनि हेर्ने भन्ने मूल विषय हो' ती नेता भन्छन्' २०७४ मा जिते पनि अहिले कमजोर भएको क्षेत्र अर्को दललाई छाड्न नेताहरू सकारात्मक देखिनु भयो। आइतबारको उपलब्धि यही हो।'
सिट बाँडफाँडको जिम्मा पाएको कार्यदललाई प्रदेशको सिटमा सहमति जुटाउन निर्देशन आइसकेको कार्यदलका एक सदस्यले बताए। कार्यदललाई प्रतिनिधि सभा छाडेर प्रदेश सभाको बाँडफाँडको खाका बनाउन भनिएको छ। प्रदेशको टुङ्ग्याउन सके केन्द्र सहजै टुङ्गिने शीर्ष नेतृत्वको विश्वास देखिएको ती सदस्यले बताए।
भदौ २७, २०७९ सोमबार ००:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।