अभागी पाकिस्तान तेस्रो पटक एसिया कपको फाइनलमा श्रीलङ्कासँग हार्यो,२०१४ को बदला लिन सकेन

एजेन्सी : फाइनलमा पाकिस्तानलाई हराउँदै श्रीलङ्का टी-२० एसिया कपको विजेता बनेको छ। फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै उसले उपाधि जितेको हो।
श्रीलङ्काको यो छैटौँ एसिया कप उपाधि हो। पहिलो पटक सन् १९८६ मा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको उसले १९९७ मा भारतलाई फाइनलमा ८ विकेटले हराएको थियो।
२००४ र २००८ मा भारतलाई नै लगातार हराउँदै उपाधि जितेको श्रीलङ्काले २०१४ को एसिया कपमा पनि पाकिस्तानलाई नै ५ विकेटले हराउँदै उपाधि जितेको थियो। त्यसयता उसले उपाधि रक्षा गर्न सकेको थिएन। २०२२ मा पाकिस्तानलाई नै हरायो।
जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ४७ रन मात्र बनाएपछि उपाधि खोसियो।
पाकिस्तानका मोहम्मद रिजवानले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाएर आउट भएका थिए। पाकिस्तानलाई अन्तिम ४ ओभरमा ६१ रन चाहिनेमा वानिन्दु हसरंगाको १७ औँ ओभरमा दुई रन खर्चिएर तीन विकेट लिएपछि च्याम्पियन बन्ने बाटो रोकिँदै गयो।
पहिलो बलमै ठुलो सट खेलेका रिजवान डिप मिडविकेटमा धनुष्का गुणाथिलकाबाट क्याच भए। एक बलपछि आसिफ अलि डक आउट भए। पाँचौँ बलमा वानिन्दु हसरंगाले खुसदील शाहलाई दुई रनमा क्याच गराउँदै एकै ओभरमा तीन विकेट लिएर श्रीलङ्काको जित निश्चित झैँ गरिदिए।
प्रमोद मदुशानले बाबर आजमलाई ५ रनमा दिलशान मदुशनकाकाट क्याच आउट गराए। लगत्तै अर्को बलमा फखार जमान गोल्डेन डकमा बोल्ड भए।
श्रीलङ्काका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए भने प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। चामिका करुणारच्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए।
टस हारेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो। श्रीलङ्काका भानुका राजपक्षे ४५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे।
वानिन्दु हसरंगा २१ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए। छैटौँ विकेटका लागि राजपक्षे र हसरंगाले ३६ रनमा ५८ रनको साझेदारी गरेका थिए।
बलर नसिम शाहले पहिलो ओभरको तेस्रो बलमा कुशल मेन्डिसलाई शून्यमा बोल्ड गरे। चौथो ओभरको दोस्रो बलमा हरिस रौफले ओपनर पाथुम निसंकालाई ८ रनमा बाबर आजमबाट क्याच गराए।
छैटौँ ओभरको पहिलो बलमा हरिस रौफले धनुष्का गुणाथिलकालाई एक रनमा बोल्ड गर्दै श्रीलङ्कालाई ३६–३ को अवस्थामा पुर्याए।
पार्ट टाइम स्पिनर इफ्तिखार अहमदले धनञ्जय डी सिल्भालाई २८ रनमा कट एन्ड बोल्ड गरेपछि श्रीलङ्का ५३–४ को कमजोर अवस्थामा पुगेको थियो।
नवौँ ओभरको पाँचौँ बलमा शादब खानले श्रीलङ्काका कप्तान दासुन शनकालाई २ रनमा बोल्ड गरे।
पाकिस्तानका तीव्र गतिका हरिस रौफले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। शादब खानले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए।नसिम शाह र इफ्तिखार अहमदले एक एक विकेट लिए।
भदौ २७, २०७९ सोमबार ००:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।