पोखरा उद्योग वाणिज्य सङ्घमा पवन समूहको नेतृत्व सहित बहुमत

पोखरा उद्योग वाणिज्य सङ्घमा पवन समूहको नेतृत्व सहित बहुमत

पोखरा : पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पवन प्रजापति विजयी भएका छन्। सङ्घको शनिवार भएको निर्वाचनको मतगणनाको आइबार साँझ सार्वजनिक भयो। जसमा प्रजापतिले आफ्ना प्रतिस्पर्धी अर्जुन पोखरेललाई ७ सय १६ मतले पछाडि पार्दै विजयी भए।

प्रजापति एक हजार ६ सय १३ मतसहित अध्यक्षमा विजयी भए। उनका प्रतिस्पर्धी पोखरेलले आठ सय ९७ मत प्राप्त गरे। पवन यसअघि सङ्घको वरिष्ठ र अर्जुन वाणिज्यतर्फको उपाध्यक्ष रहेका थिए।

सङ्घका निर्वाचनमा प्रजापति र पोखरेल प्यानल बनाएरै भिडेका थिए। अधिकांश पदाधिकारी र सदस्यमा प्रजापति प्यानलले जितेको छ। अघिल्लो चुनावमा एउटै प्यानलमा रहेका उनीहरू ३४ औँ महाधिवेशनमा छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए।

चुनावमा पवनले बहुमत सहितको प्यानले बाजी मारेका छन्। उद्योग उपाध्यक्षबाहेक सबै पदाधिकारीमा उनको प्यानल विजयी भयो भने साधारण सदस्यतर्फका १० जनामध्ये ७ जना उनकै पक्षका विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्षमा पनि पवन समूहका गोकर्ण कार्की विजयी भए। यसअघि २ कार्यकाल उद्योग उपाध्यक्ष रहेका गोकर्णले १७ सय ७६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी हरिहर सापकोटाले ७ सय ३८ मत प्राप्त गरे।

उद्योगतर्फको उपाध्यक्ष देवेन्द्र केसी १ हजार ७ सय ९१ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी हीरामणि पण्डितले ७ सय २० मत पाए। वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्यले ९ सय ६९ मत पाएर विजयी भए।

उनका निकटतम् प्रतिद्वन्द्वी सोवित पौडेलले ८ सय ७८ र अर्की प्रतिस्पर्धी कुमारी मुना बास्तोलाले ६ सय ४८ मत प्राप्त गरेका थिए।

महासचिवमा पवन समूहका बलराम आचार्य विजयी भए। उनले ९ सय १० मत प्राप्त गरेका थिए। प्रतिस्पर्धी केशवबहादुर खत्रीले ८ सय २९ मत पाए। कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोलाले १ हजार ५ सय ९९ पाएर विजयी भए। उनका प्रतिस्पर्धी हरिराज पन्तले ९ सय ५ मत प्राप्त गरे। उपमहासचिवमा शोभा गौतम १ हजार ७ सय ५५ मत पाएर विजयी विजयी भइन्। उनका प्रतिस्पर्धी हर्कबहादुर अधिकारीले ७ सय ५८ मत ल्याए।

कार्यसमिति सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दिलीपकुमार श्रेष्ठ,भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी भए।

कुल १९ जनाले साधारण सदस्यमा उम्मेदवारी दिएकामा १० जना विजयी भएका छन्। त्यस्तै बस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ (२७), प्रेमप्रसाद सुवेदी(२७), लेखनाथ सुवेदी (२३) र लीलाधर चपाई (२२) पाएर विजयी भए।

भदौ २६, २०७९ आइतबार २२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।