केन्द्रीय सुरक्षा समिति बैठकले पारित गर्‍यो चुनावी सुरक्षा योजना, केन्द्रदेखि जिल्लासम्मै सुरक्षा कमान्ड

केन्द्रीय सुरक्षा समिति बैठकले पारित गर्‍यो चुनावी सुरक्षा योजना, केन्द्रदेखि जिल्लासम्मै सुरक्षा कमान्ड

काठमाडौँ : केन्द्रीय सुरक्षा समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बनेको विशेष सुरक्षा योजना पारित गरेको छ। योजनामा नेपाल प्रहरीले नेतृत्वमा सशस्त्र प्रहरी र म्यादी परिचालन गरिने उल्लेख छ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक आइतबार अपराह्न गृह मन्त्रालयमा बसेको हो।

चुनावी सुरक्षामा नेपाली सेनाले समेत सघाउने छ। यस अगाडिको निर्वाचनमा जस्तै निर्वाचन बुथभित्रको सुरक्षामा नेपाल प्रहरी परिचालित हुनेछ भने बुथको पेरिमिटरको सुरक्षामा सशस्त्र प्रहरी परिचालित हुनेछ। म्यादी प्रहरीको सहयोगी भूमिकामा परिचालित हुनेछन्।

नेपाली सेनाले लङरेन्ज पेट्रोलिङ र सर्ट रेन्ज पेट्रोलिङसंगै जेल, विमानस्थल लगायतका सुरक्षाको जिम्मा लिएर त्यहाँ खटिएका प्रहरी र सशस्त्रलाई चुनावी सुरक्षामा परिचालित हुन सघाउने छ।

केन्द्रमा गृहमन्त्रीको नेतृत्वमा सबै सुरक्षा प्रमुख रहने गरी केन्द्रीय कमान्ड, प्रदेशमा प्रदेश गृहमन्त्री र प्रदेश सुरक्षा प्रमुख सहितको प्रदेश सुरक्षा कमान्ड र जिल्लामा प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखको रहेको जिल्ला सुरक्षा समिति गठन हुनेछन्।

आइतबार पारित भएको सुरक्षा योजनाको आधारमा जिल्ला जिल्लामा पनि थप योजना बनाउन सक्ने गृहले जानकारी दिएको छ।

बैठकमा गृहमन्त्री खाँणसहित गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल गृह प्रवक्ता पोखरेललगायत सहभागी थिए।

भदौ २६, २०७९ आइतबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।