सभामुख सापकोटाको निम्तोमा चीनका जन कंग्रेसका स्थायी समिति अध्यक्ष झान्सु भोलि नेपाल आउँदै

काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका राष्ट्रिय जन कंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सु भोलि नेपाल आउँदै छन्। भदौ २७ देखि ३० गतेसम्म उनी नेपालको औपचारिक भ्रमणमा हुनेछन्।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार उनी सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने छन्।
सभामुख सापकोटा र अध्यक्ष झान्सुले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ। सोही साँझ सभामुख सापकोटाले झान्सु र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नेछन्।
नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा, प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नेछन्। यसैगरी सोही दिन उनले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्नेछन्। यस्तै परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि उनीसँग शिष्टाचार भेट गर्ने तय भएको छ।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनको छुट्टाछुट्टै भेटवार्ता हुनेछ।
अध्यक्ष झान्सु भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ।
भदौ २६, २०७९ आइतबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।