करेन्ट लगाई माछा मार्ने क्रममा झापामा तीन जनाको मृत्यु

झापा: झापाको छुट्टाछुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ। हिजो अपराह्न याङबरक गाउँपालिका-६ पाँचथर घर भई बुद्धशान्ति-२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइली बुद्धशान्ति गाउँपालिका-३ स्थित कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए।
घाइते बराइलीको स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचार पश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उनको अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो।
यसैगरी हल्दीबारी गाउँपालिका-५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
मेचीनगर नगरपालिका-५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाइते भएका मेचीनगर नगरपालिका-११ धाईजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।
भदौ २६, २०७९ आइतबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।