एक लाख १५ हजार म्यादी प्रहरीको लागि भर्ना खुल्यो, ४० दिनको पारिश्रमिक ३४ हजार ७६०

एक लाख १५ हजार म्यादी प्रहरीको लागि भर्ना खुल्यो, ४० दिनको पारिश्रमिक ३४ हजार ७६०

काठमाडौं: आउँदो प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुला गरेको हो।

यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सकिनेछ। सार्वजनिक बिदाको दिन समेत बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रहरी परिसरसहित देशभरका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ।

म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुनेछ। ४० दिनका लागि प्रतिदिन ८६९ रुपैयाँको दरले पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त हुनेछ।

यस्तै खाद्यान्नबापत पनि ७ हजार २०० रुपैयाँ दिइनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूको हकमा भने जिल्लाको न्यूनतम राशन दररेटअनुसारको रकम पाउनेछन्।

यस्तै तोकिएको पोसाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप एक हजार रुपैयाँ उपलब्ध हुनेछ।

यसका साथै म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारीस्वरूप एक हजार रुपैयाँ उपलब्ध हुनेछ। यस्तै तीन सय रुपैयाँका दरले चार दिनका लागि खाजा खर्च पनि उपलब्ध हुनेछ।

अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने जनाइएको छ।

भदौ २६, २०७९ आइतबार ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।