विद्यालय जान भनी घरबाट निस्केर बेपत्ता भएका बुटवलका तीन बालक भारतमा फेला

विद्यालय जान भनी घरबाट निस्केर बेपत्ता भएका बुटवलका तीन बालक भारतमा फेला

बुटवल: शुक्रबारदेखि बेपत्ता बुटवलका तीन जना बालक भारतमा फेला परेका छन्। विद्यालय जान भनेर घरबाट हिँडेका उनीहरू हिजो भारतमा फेला परेका हुन्।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एक जनासँग विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए।

तर, विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए। शुक्रबारदेखि खोजी भइरहेको अवस्थामा भारतको पुणेमा उनीहरू भेटिएको एक अभिभावकले बताएका छन्।

‘हामीले यहाँ नाकामा जडान भएका सीसीटीभी क्यामेरा हेर्दा केही देखिएन। तर बाबुहरू पुणेमा भेटिएका छन्। हिजो साँझ मात्र छोरासँग भिडियोमा कुराकानी गरेँ’, ती अभिभावकले भने।

उनले पुणे पुग्न ३६ घण्टा लाग्ने भए पनि त्यहाँ कसरी, कसले लग्यो यसबारे अहिलेसम्म केही नखुलेको बताए। ‘सम्पर्कमा छन्। तर उनीहरू नेपाल नआउञ्जेल डर पनि छ। हामी अहिले बिहान उनीहरूलाई ल्याउन हिँड्यौ’, ती अभिभावकले भने।

बालकहरूले भने आफूहरू कसरी भारत आइपुगेको भन्ने केही थाहा नभएको अभिभावकलाई बताएका छन्। तीन बालकमध्ये एकसँग १५ हजार बढी रकम भए पनि अन्यका साथमा रकम नभएको परिवारले बताए।

भदौ २६, २०७९ आइतबार ०९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।