२० वर्षअघि हत्या गरेर फरार, टेम्पो चलाउँदै गरेको अवस्थामा पक्राउ

२० वर्षअघि हत्या गरेर फरार, टेम्पो चलाउँदै गरेको अवस्थामा पक्राउ

काठमाडौं: कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। तनहुँ प्रहरीले २० वर्षपछि उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

पक्राउ परेका श्रेष्ठविरुद्ध शुक्रबार तनहुँ अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को समन्वयमा उनलाई गैंडाकोट नगरपालिका–२ स्थित राजमार्गमा बाप्र-०३–००१ह १५६८ नम्बरको टेम्पो चलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।

विसं २०६० साउन १८ गते भानु नगरपालिका–६ बस्ने ५५ वर्षीय चाउरे श्रेष्ठलाई घातक हतियार कोदालो प्रयोग गरी उनले घाइते बनाएका थिए। घाइते श्रेष्ठको उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो।

घटनापश्चात् उनी फरार रही लुकीछिपी बस्दै आएका थिए।

भदौ २६, २०७९ आइतबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।