अमेरिका भ्रमणबाट स्वदेश फर्कियो प्रहरी महानिरीक्षकको टोली

अमेरिका भ्रमणबाट स्वदेश फर्कियो प्रहरी महानिरीक्षकको टोली

काठमाडौंः प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो संयुक्त राष्ट्र प्रहरी चिफ सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन्।

प्रहरी महानिरीक्षक सिंह र अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरूमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्र संघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र शान्ति कायम गर्न गरिने प्रक्रियाको कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए।

नेपालका तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले बताए। साथै उहाँले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा गरिएको उल्लेख गरे।

साथै समिटको क्रममा भएका औपचारिक एवं अनौपचारिक छलफल समेत निकै फलदायी भएको उनले बताए। समिटको दौरानमा दुवै प्रहरी प्रमुखले संयुक्त राष्ट्र संघ अन्तर्गत शान्ति मिसन विभागका पदाधिकारीहरूसँग भेटघाट गरेका थिए।

भदौ २५, २०७९ शनिबार १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।