सविना खातुनको ह्याट्रिकमा पाकिस्तानमाथि बंगलादेशको ६–० को जित

काठमाडौंः साफ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० ले पराजित गरेको छ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा बंगलादेशकी कप्तान सबिना खातुनले ह्याट्रिक गरिन् भने मोनिका चक्मा, मोसममत सिरात जहाँ शोपना र रितु पोर्णा चक्माले एक–एक गोल गरे।
मोनिकाले तेस्रो मिनेटमा नै गोल गर्दै सुरुवात गरेपछि २८औं मिनेटमा शोपनाले दोब्बर बनाएकी थिइन्। त्यसको तीन मिनेटपछि खातुनले पहिलो र ३५ औं मिनेटमा अर्को गोल थपिन्।
पहिलो हाफमा ४–० को अग्रता बनाएपछि खातुनले ५८औं मिनेटमा ह्याट्रिक पूरा गरिन्। ७७औं मिनेटमा रितुले ६–० को अग्रता बनाइन्।
बंगलादेशले आफ्नो उद्घाटन खेलमा माल्दिभ्सलाई ३–० ले हराएको थियो। भारतसँग ३–० ले पराजित भएको पाकिस्तानको यो लगातार दोस्रो हार हो।
भदौ २५, २०७९ शनिबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।