दार्चुलाको बाढी पहिरोमा परी मृत्यु, बेपत्ता र घाइते भएकाहरूको यस्तो छ विवरण

दार्चुलाको बाढी पहिरोमा परी मृत्यु, बेपत्ता र घाइते भएकाहरूको यस्तो छ विवरण

काठमाडौं: दार्चुलाका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ। यस्तै हालसम्म आठ जना घाइते र सात जना बेपत्ता भएका छन्।

गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मृतकमा महाकाली नगरपालिका- २ मुल्ला मोड बस्ने ७७ वर्षीय नन्दराम बोहोरा, सोही नगरको वडा नम्बर ३ की ३५ वर्षीया मानमति कार्की, नौगाड गाउँपालिका- २ दल्लेख बस्ने ६८ वर्षीय मोहन राम पार्की, नौगाड- १ की ३२ वर्षीया जानकी ठगुन्ना र सोही स्थानकी १५ वर्षीया धनुली ठगुन्ना रहेका छन्।

यस्तै घाइतेहरूमा नौगाड- १ सल्ला बस्ने वीरे ठगुन्ना, ३४ वर्षकी रम्भा ठगुन्ना, ३४ वर्षकी फागुनी ठुगुन्ना, ४१ वर्षका जयबहादुर ठगुन्ना रहेका छन्। उनीहरूलाई सेनाको हेलिकप्टरबाट जिल्ला अस्पताल दार्चुलामा उपचारको लागि लगिएको छ।

यस्तै नौगाड- २ मैखोली बस्ने वर्ष ६४ का हर्कसिंह साहु, वडा नम्बर ४ बस्ने अमरसिंह पार्की, सोही स्थानकी मुसी पार्कीको पनि उद्धार गरिएको छ।

नौगाड- ६ का ३० वर्षका राम टमाटालाई महाकाली नदीबाट उद्धार गरिएको छ।

यस्तै हालसम्म सात जना बेपत्ता छन्। बेपत्तामा महाकाली नगरपालिका- ३ डुङ्ग्री बस्ने धनसिंह कार्की, उनका छोराहरू दीपक कार्की र दिनेश कार्की, वडा नम्बर २ बस्ने हर्कसिंह साहुका श्रीमती मानमति साहु बेपत्ता छन्।

यस्तै दुहुँ गाउँपालिका घर भई हाल महाकाली नगरपालिका- १ लास्कुपारि डेरा गरी बस्ने ३२ वर्षीया मञ्जु लुहार, सोही स्थानका २७ वर्षीय दिनेश लुहार, तीन वर्षकी डल्ली लुहार र २५ वर्षका साजन लुहार बेपत्ता छन्।

यस्तै सवारी साधनहरूमा पनि क्षति भएको छ। बाढीले पार्किङमा राखेका पाँच बोलेरो जीप बगाएको छ भने एक ट्र्याक्टर र एक अल्टो कार बगाएको प्रहरी जनाएको छ।

से१ज २९३ नम्बरको बोलेरो जीप बगाएको छ। यस्तै से१ज ६८३ नम्बरको बोलेरो जीप पनि बगाएर बेपत्ता छ। से१ज ९८२ नम्बरको बोलेरो जीप बगाई बेपत्ता छ। यसका साथै सुपप्र-०१-००१च ३०८७ नम्बरको अल्टो कार पनि बगाएर बेपत्ता भएको छ। म१च ४२२ नम्बरको बोलेरो जीप र सुपप्र-०१-००१च २६७६ नम्बरको बोलेरो जीप पनि बगाएको छ।

सुपप्र-०१-००१त १४३७ नम्बरको ट्र्याक्टर पनि बगाएर फेला परेको छैन।

बाढीले लास्कु क्षेत्रका चार, बांगाबगर क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालय पूर्णरूपमा क्षति भएको छ।

दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ। अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतले खोज तथा उद्धार गरिरहेका छन्।

भदौ २५, २०७९ शनिबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।