दार्चुलाको बाढी पहिरोमा घाइते भएकाहरूको उद्धार तथा उपचारमा कुनै कसूर बाँकी नराख्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी घाइते भएका र प्रभावित भएकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्। उनको निर्देशनपछि गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, विपद् व्यवस्थापन महाशाखा हेर्ने सहसचिव प्रदीप कोइरालाले नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पठाइसकेका छन्।
गृह मन्त्रालयका प्रवक्ता समेत रहेका पोखरेलले बाढी र पहिरोमा परी गम्भीर घाइते भएकाहरूलाई उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको छ। घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरेर सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको छ।
नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआइजी मोहन आचार्यका अनुसार अहिलेसम्म शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म पाँच जनाको शव भेटिएको र सात जना बेपत्ता भएका छन्। यस्तै आठ जना घाइते भएका छन्।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको डीआइजी आचार्यले जानकारी दिए।
गृहमन्त्री खाँणले बाढी पहिरो विस्तापितलाई तत्काल राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिएको दार्चुलाका प्रजिअ उपाध्यायले बताए।
सरकार नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि कुनै कसूर बाँकी नराख्न उनले गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
भदौ २५, २०७९ शनिबार १३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।