दार्चुलामा बाढीले एक जनाको मृत्यु, ६ बेपत्ता, डेढ दर्जन घर, सात वटा गाडी र पुल बगे

काठमाडौं: शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण दार्चुलाको खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै ६ जना बेपत्ता भएका छन्।
हालसम्म एक जनाको शव फेला परेको छ। मृतक नौगाड गाउँपालिकाका ३५ वर्षीय चिमणे ठगुन्ना रहेका छन्। यही नगरपालिकाका एक जना बेपत्ता भएका छन् भने दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा कासी ठगुन्ना र रम्बा ठगुन्ना रहेका छन्।
यस्तै जिल्लाको महाकाली नगरपालिका–३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन्।
घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उक्त जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेका छन्।
बाढीले दर्जनौँ घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य जारी नै रहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ।
त्यस्तै महाकाली नगरपालिका–३ लास्को खोलाले रोकेर राखेका सात वटा गाडी समेत बगाएको छ। घटनास्थल क्षेत्रमा उद्धारकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुला तिङ्कर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुङ्गे र मोटर पुल समेत बगाएको छ। बिहानदेखि पानी पर्न छोडे पनि उक्त क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
भदौ २५, २०७९ शनिबार ०९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।