अष्ट्रेलियन क्रिकेट टोलीका कप्तान आरोन फिन्चद्वारा एकदिवसीय क्रिकेटबाट सन्यास

एजेन्सी: अष्ट्रेलियन क्रिकेट टोलीका सीमित ओभरका कप्तान आरोन फिन्चले एकदिवसीय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। ३६ वर्षीय ब्याट्सम्यान फिन्चले शनिबार बिहान सन्यास घोषणा गरेका हुन्।
उनले अब आफ्नो अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय खेल आइतबार न्युजिल्याण्डविरुद्ध खेल्नेछन्। यो उनको १४६औं अन्तर्राष्ट्रिय एकदिवसीय खेल हुनेछ। यसबीचमा ५४ खेलमा उनले कप्तानको भूमिका निभाएका छन्।
फिन्च अष्ट्रेलियाका २४औं एकदिवसीय कप्तान हुन्। टेस्ट म्याच खेल्ने नगरेका फिन्च अब अब अष्ट्रेलियन टोलीबाट टी ट्वेन्टीमा मात्र देखिनेछन्। उनले यसअघिको टी ट्वेन्टी विश्वकपमा अष्ट्रेलियालाई उपाधि दिलाएका थिए। आउँदो महिना अष्ट्रेलियामै हुने टी ट्वेन्टी विश्वकपमा उनी कप्तानको भूमिकामै हुनेछन्।
एकदिवसीयमा भने फिन्चले १७ शतक प्रहार गरेका छन्। उनी एकदिवसीयमा सर्वाधिक शतक प्रहार गर्ने चौथो अष्ट्रेलियन खेलाडी हुन्।
फिन्च हालै फर्ममा देखिएका छैनन्। पछिल्लो सात पारीमा उनले केवल २६ रन मात्र बनाएकाले सन्यासको निर्णय गरेको बताइएको छ।
फिन्चले यसअघि आफू भारतमा हुने सन् २०२३ को विश्वकपमा अष्ट्रेलियालाई नेतृत्त्व गरेर मात्र सन्यास लिने बताएका थिए। आज बिहान भने उनले अब नयाँ नेतृत्त्वलाई सम्भावित अवसर दिएर आगामी एकदिवसीय विश्वकप जित्न तयार गर्नुपर्ने बताए।
भदौ २५, २०७९ शनिबार ०९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।