अर्काको डेटा मेटाएको आरोपमा आइटी कम्पनी सञ्चालक पक्राउ

अर्काको डेटा मेटाएको आरोपमा आइटी कम्पनी सञ्चालक पक्राउ

काठमाडौँ : वेब पोर्टलभित्र अनधिकृत रूपमा प्रवेश गरेर डेटाहरू मेटाएको आरोपमा जेनिस सोलुशन प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोखरेल पक्राउ परेका छन्। उनलाई प्रहरीको साइबर अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

ब्युरोका अनुसार उनी विरुद्ध कम्प्युटर लेखा सम्बन्धी उपकरणहरूको कारोबार, कम्प्युटरको थोक व्यापार र अन्य विभिन्न वस्तुहरूको आयात निर्यात गर्ने सुन्दर ग्रुप अफ कम्पनीको डेटा मेटाएको आरोपमा जाहेरी परेपछि पक्राउ गरिएको हो।

जाहेरीमा जेनिर सोलुसनले होस्टिङ अकाउन्टमा अनधिकृत रूपमा प्रवेश गरेर पूर्व सूचना नदिई सम्पूर्ण डेटाहरू नष्ट गरी क्षति पुर्याएको दाबी गरिएको छ।

काठमाडौँ महानगरपालिका ९ बत्तिस पुतलीका ५० वर्षीय पोखरेल ललितपुर महानगरपालिका २ झम्सिखेलस्थित कम्पनीमा कार्यरत थिए। उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुरमा अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।

भदौ २४, २०७९ शुक्रबार २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।